मलाई जन्माउँदा,
आमाको शरीरबाट रगत बगेको थियो
र मेरो आँखामा आँसु थियो।
तर आमालाई के थाहा!
छोरी मरेर जाँदा,
छोरीको शरीरबाट रगत बग्नेछ
र आमाको आँखामा आँसु हुनेछ।
मेरो शरीरबाट बगेको रगत त
जालीहरूले उहिले नै खोला मै पखाली दिए
तर,
आमाको आँखाबाट बगेको आँसु
अझै पनि उस्तै गरी बगिरहेको छ
आमाको त्यो आँसुले छोरीको लागि
न्याय पर्खिरहेको छ ।
सायद,
आँखामा पट्टी बाँधेर, बस्ने
त्यो सेतो न्याय मूर्तिले
छोरीको न्यायको लागि
रुँ- रुँदा काला भएका
आमाका आँखा देखेन होला।
सानो छदाँ
जब म पसलमा देखिएका
ठूला-ठूला खेलौना, देखाउँदै,
बालाई किनिदिन भन्थे।
बा, हुन्न त्यो, महँगो पर्छ भन्नु हुन्थ्यो।
तर जब म आफैँ,
ठूला ठूलाहरूबाट
सानो खेलौना सरी खेलिए।
बेरिएँ। बिगारिएँ।
मैले बासँग
मलाई न्याय चाहियो भने।
तर मेरा अबोध बालाई के थाहा!
छोरीलाई खेलौना पनि किनिदिन नसक्ने
एक गरिब बालाई,
यो न्याय त झन् कति महँगो पर्दो रहेछ भनेर।
सानोमा
जब म आमालाई,
मलाई नयाँ लुगा लगाउन मन लाग्यो भन्थे।
आमा, त्यस्तो लुगा
मैले बजारमा भेटिनँ भन्नु हुन्थ्यो।
तर जब
पुराना सोच भएका
पुराना मान्छेबाट
मेरा पुरानै लुगा पनि
च्यातिए।
र म पनि लुगा सरी च्यातिएँ, फ्याँकिएँ,
मैले आमासँग,
मलाई न्याय चाहियो भनेँ।
तर मेरी अबोध आमालाई के थाहा,
छोरीलाई नयाँ लुगा पनि खोजिदिन नसक्ने,
एक निरीह आमालाई
न्याय त झन् कति दुर्लभ हुन्छ भनेर।
बा काममा जाँदा,
कहिले फर्किनु होला भन्दै
म बाटो कुरी बस्थे
र साँझ तिर बा फर्किनु हुन्थ्यो
मिठाई लिएर।
आज,
समय फेरिएको छ
कुर्ने पालो बाको आएको छ
बालाई थाहा छ,
छोरी अब फर्किन्न भनेर।
तर छोरीको लागि न्याय कहिले फर्किन्छ भन्दै,
बा बाटो हेरी बस्नु हुन्छ
फरक यति हो,
बाले कुर्ने ठाउँ
घरको आँगन होइन
न्यायालयको आँगन भएको छ।
बालाई मिठाईको आश होइन
छोरीको लागि निसाफ चाहिएको छ।
सानोमा,
दुई मिनेट नि म
म निदाउन नसक्दा
आमा,
मेरो शिरमा हात राखेर
मसिनो मीठो स्वरमा मलाई लोरी सुनाउनु हुन्थ्यो।
तर अहिले दुई वर्ष भो,
मेरो आत्मा निदाउन नसकेको
र मेरी आमा निदाउन नसकेकी।
आमालाई थाहा छ,
छोरीलाई यसपाली निदाउन
लोरीले छुँदैन।
शिरमा हात राखेर पुग्दैन।
एउटा रातमा
उखुको झारपातमा लगेर
मेरो कलिलो आँतमा
लात हानेर,
हात पात गरेर,
मेरो अबोध शरीरलाई,
आत्मा बनाउने अपराधीहरूको
हातमा हतकडी देखे भने मात्र
मेरो आत्मा शान्तिसँग निदाउन सक्छ।