यतिबेला कोठाको सानो झ्यालबाट बाहिरी संसार नियालिरहेकी छु। धानका स-साना पोथ्रा आफ्नो तीखो टुप्पोमा शीत उनेर बेली डान्स गरिरहेका छन्। तिनकै खस्रा पातहरु हुँदै साघुँरो गरी छिरेको शितल शिरेटो मसम्म आइपुगेको छ। र बढो प्यारले मलाई हिर्काइरहेको छ।
यो भदौरे गर्मीको पेवा समयमा घामले झुक्किएर मात्रै हामीमाथि प्रेम वर्षाउने गर्छ। आज घाम छुट्टीमा गएको छ। वातावरणसँगै मन पनि रमाएको छ। केटाकेटीमा स्कुल छुट्टि हुँदा रमाइलो लागेजस्तै।
बिहानीको यस्तो मनोरम क्षणमा यदि म खुल्ला प्रकृतिसँग हुन्थेँ भने पक्कै एउटा सुन्दर कविता लेख्ने थिएँ। मेरो दुर्भाग्य! इश्वरको विश्वरुपलाई बन्द कोठाको सानो झ्यालबाट हेर्ने प्रयास गरिरहेकी छु। त्यसैले अधुरो, अपुरो, अकाब्यिक केही लेख्न खोजिरहेकी छु।
महशुस हुनु सबैभन्दा ठूलो कुरा रहेछ। यसरी लेख्न नबसेको भए बाहिरको स्वर्णीम प्रकृतिको मलाई आभाससम्म हुने थिएन। जुन सदैव मसँग उपलब्ध थियो। छ।
जे लेख्न खोजेकी थिएँ, त्यो नलेखेर अब म अर्थोकै लेख्न जादैछु। कहिलेकाही बाटो भुल्नु पनि राम्रै होला! जान लागेको ठाउँभन्दा हराएर पुगिने ठाउँ अझ सुन्दर हुने संभावनाको आशमा।
म शिरेटो खोज्न साराङकोट जाने मान्छे। मलाई घरमै बसिबसी पाएको शिरेटो शिरेटो लाग्दैनथ्यो। अघि भर्खरसम्म पनि। सायद अब केही क्षण पछि पनि। हरिया, सुनौला खेतका फाँट, फाँटको किनारमा देखिएका बादल छुने रुख, रुखको टुप्पोबाट झुल्किएको घाम कहाँ सुन्दर हुन्छ? खोलामा ऐना हेर्दै अस्ताउदै गरेको घाम हेरेर को बस्ने?
घाम त पहाडको टुप्पोबाट उदाएर पहाडको टुप्पो पछाडि अस्ताएको पो राम्रो! म घामको सुन्दरता हेर्न अन्तु पुग्ने मान्छे। जिन्दगी सधैँ सरल रेखामा चलोस भन्ठान्छु। आफू बसेको समथर जमिनजस्तै। तर आफै मौका पर्नासाथ पहाड उक्लिहाल्छु। बाटो हिड्दा माटोले छुन्छ कि भनी जोगिएर हिड्छु।
भएको खेतबारी अर्कैलाई कमाउन दिन्छु र हिउँमा चिप्लेटी खेल्न सन्दकपुर पुग्छु। म आफूभित्रको इश्वरलाई दुरदुर गरेर ढुंगालाई पुजा गर्ने मान्छे। आफ्नै सुगन्ध नचिनेर देश दुनियाँ भौतारिन्छु।
कति अनौठो है? तर यही अनौठोपनलाई हामीले यस्तरी अपनायौँ कि अब यो अनौठो लाग्न छोडेको छ। यो मेरो मात्र कथा होइन, हामी सबैको वास्तविकता हो।
कसले सिकायो हामीलाई पढेर ठूलो मान्छे हुनुपर्छ? पढेको मान्छेले घरमा, गाउँमा बस्नु हुँदैन, सहर जानुपर्छ? खेतीपातीको काम वा अरु पेसा व्यवसाय गर्नु हुँदैन, जागिरै खानुपर्छ? सिकाउने हाम्रा आमाबाबु नै हुन्। गाउँ, समाज, आफन्तनै हो। साँच्ची तिनलाई कसले भन्यो यो कुरा? तिनका आमाबाबुले! गाउँ समाजले! आफन्तले! अनि तिनलाई? फेरि तिनलाई?
यो कुरा तिनलाई तिनका शासकले भनेका थिए। जसलाई तिनले समय समयमा धानको मोथेझै उखेलेर फालेका थिए। फेरि उम्रिन नसक्ने गरी हिलोमा गाडेका थिए। यस्ता रद्दी कुरा सिकाउने शासकलाई फाल्न सकेका हाम्रा पिता पूर्खाले तिनले सिकाएका अल्पज्ञानलाई भने जोगाइरहे, अनिकालको बीउझैं।
यो छोटो समयमै हामीले पनि धेरै शक्ति समाप्त भएको देखेका छौँ। तिनलाई पाखा लगाउन हामीले पनि जुत्ताको तुना बाधेका थियौँ, मुठ्ठी कसेका थियौँ, कलमको निब तिखारेका थियौँ, खुकुरीमा धार लगाएका थियौँ। छौँ। तर खोइ यस्ता अन्धविश्वासबाट मुक्त हुन सकेका? बाउबाजेको अंश खाएर वंश धान्ने सपना देखेका हामीले अझै यी मान्यताहरुलाई बिर्ता सम्झेर संरक्षण गरिरहेका छौँ। बिरालो थुनेर श्राद्ध गरेझैँ।
एकपछि अर्को शक्ति यसरी किन ढलिरहेछ? कस्तो आश्चर्य! किन दशकैपिच्छे फेरिएका सत्ता असफल भैरहेका छन्?
सायद यिनले हामीलाई आफूतिर फर्काउन खोजेनन् र आफैं हराए। हराउँदै छन्। हराउने वाला छन्। प्रगतिशील भनिएका शक्तिले हामीलाई शिक्षा दिए, सीप सिकाएनन्। आशिर्वाद दिए, अनुशासन सिकाएनन्। अधिकार दिए, जिम्मेवारी दिएनन्। विदेशीने बाटो दिए, स्वदेशमै गरिखाने माटो दिएनन्। फलस्वरूप हामी अरिङ्गाल भयौँ, माहुरी बन्न सकेनौँ।
'शिक्षा पाउने अधिकार बाहुनलाई मात्रै छ।' यस्तो मान्यता राख्नेहरुले सुरु गरेको शिक्षा प्रणालीले सबैलाई शिक्षा दिने उदारता देखायो। झट्ट हेर्दा यो क्रान्तिकारी परिवर्तन थियो। तर आफ्नो आधारभूत मान्यतालाई भाच्ने क्रान्ति राज्यका ठेकेदारसँग थिएन। राणाले गुठिद्वारा संचालन गरेका स्कुल, क्याम्पस सरकारी कोषद्वारा चल्न थाले।
अत्यन्तै थोरैको पहुँचमा रहेको शिक्षा सर्वसुलभ भयो। तर पाठ्यक्रम उहीँ, स्वरुप उहीँ, पढाउने मास्टर उहीँ। जुन संरचनाले कर्मचारी मात्रै उत्पादन गर्थ्यो। जहाँ शिक्षा लिनु जीवन थप सहज बनाउनु नभएर शानको विषय बन्थ्यो। पढ्नुको उदेश्य जागिर खानु हुन्थ्यो।
'जागिरको कोटा सीमित हुन्छ। जहाँ सबै अटाउन सक्दैनन्।' यति सामान्य कुरा सोच्ने दूरदर्शीता शासकमा थिएन। परिणामत: सबै शिक्षितहरु कर्म नगरी गफ चुटिखाने पन्डित भयौँ। अझै भैरहेका छन्।
पहिले जातियताको आधारमा कामको बाडफाड गरिएको थियो। पछि शिक्षाको आधारमा कामको विभाजन गरियो- पढेलेखेकाले जागीर खाने, नपढ्नेले खेती, मजदुरी गर्ने। हिलो मैलोको काम को गरोस्? शिक्षा सुलभ थियो। सबैले पढ्यौँ। पढाइयौं। आज सय जनाको लागि सरकारी कोटामा जागीर खुल्छ। लाखौँले आबेदन दिन्छौँ। उमेर हद नसकिउन्जेल आस छोड्दैनौँ। टुप्पी कस्छौँ, घुडा धस्छौँ। त्यति गरेर पार नलागेपछि खाडी पस्छौँ। बिहे गरेर गृहस्थिमा बस्छौँ।
'म गाउँमा बस्छु' भन्दा मुख बङ्ग्याउनेहरु गाउँ-सहर जताततै छन्। 'म सहरमा बस्छु' भन्दा आँखा तन्काउनेहरु गाउँ-सहर जताततै छन्। त्यसैले हामीलाई जसरी भएपनि सहरमै बस्नु छ। गाउँ-गाउँमा क्याम्पस खुलेपनि सहरमै पढ्नु छ। हाम्रो युवा जोस सहरको साघुँरो डेरामा चुलो बल्न छोडेपछि सडकमा निस्किएर ग्यासको भाउमा दलाली गर्दागर्दै सकिन्छ।
बाउले घिउ बेचेर पठाएको पैसाको बास्ना हामीलाई मीठो लाग्छ। आमाले हिड्ने बेला अक्षता लगाइदिँदा गनाएको गोबरको गन्ध, सम्झी-सम्झी वाक्वाकी लाग्छ।
गाउँमा आमाहरुले छोराछोरीलाई गाली गर्दा भन्ने गर्छन्, 'गुँकै थास भैस।' गोबरको गन्ध मन नपराउने हामी पत्तै नपाई गुँको थास बनिरहेका छौँ। जुन मलको रूपमा पनि प्रयोग गरिदैन। (यद्यपि गुँलाई मल बनाउन सकिन्थ्यो।)
क्याम्पस पढ्दाताका मेरी एउटि सहपाठी थिइन्। जो ७ किलोमिटर साइकल पेलेर र ७ किलोमिटर बस चढेर दमक क्याम्पस आइपुग्थिन्। जसको घर गाउँमा खेतको बीचमा थियो। र जसको घरमा हात्ती जत्रा दुई चार राँगा, भैंसी थिए।
ती अरु साथीहरूसँग गफ गर्थिन्- हसियाँ कस्तो हुन्छ? मैले देखेकी छैन। उनको गफ सम्झेर म धेरै पटक एक्लै सर्माएकी छु। तर अहिले लाग्दैछ, त्यो उनी हैन, हाम्रो शिक्षा प्रणाली बोलेको हो। किताबले कहिल्यै पढाएन, हसिया बाङ्गो हुन्छ कि सिधा? उनलाई बाउआमाले धेरै पढ्न, जागिर खान मात्रै अर्ती दिइरहे। छोरी आफूजस्तै किसान बनोस् भन्ने कहिल्यै चाहेनन्। अनि किसान आमाबाबुकि छोरी हुनुमा उनले किन गर्व गर्नु?
मेरा कतिपय साथिभाइ छन् जो बाबुआमा परदेशमा पसिना बगाइरहेका छन् भन्न कत्ति पनि सरम् मान्दैनन्। तिनलाई सरम बाबुआमा किसान हुन् भन्नुपर्दा लाग्छ।
शिक्षाले हामीलाई आफ्नो धरातल बिर्सिन सिकायो। हामी भुइँफुट्टा भयौँ। आत्मरतिमा रमायौँ। घर, परिवार, समाजबाट अलग्गियौँ। प्रकृतिबाट टाढियौँ। सानो कोठा वा दुई चार आना/धुरमा बनेका कोठे घरमा सजायौँ। हाम्रो संसार हजुरामाले लगाउने सुति साडीको मुजाझैँ खुम्चिदै गयो। हामी कुचुक्क परेर एउटा कुनामा थन्कियौँ।
म किसान बाबुआमाकी छोरी। स्नातकको पढाइ सकेपछि घरमा (गाउँ) गएर बस्न थालेँ। संयोगले त्यही बेला कारितास नामक संस्थाले गाउँमा कृषि तालिम सुरु गर्यो। ममी कृषि कर्मैमा व्यस्त। पढाइ लेखाइको काम पढेकै मान्छेले गर्ने हो। (यद्यपि ममीले प्रवीणता तह सक्नु भएको थियो। तर गृहिणीले जागिर नखाएपछि, गाउँमा बसेपछि जति पढेपनि शिक्षित मानिदैन।) तालिम लिन म गएँ।
दुखको कुरा! त्यहाँ कलेजमा जस्तो पढाएर मात्रै छोडिदैन रहेछ। केही दिनमा बोडीको बीउ दिएर घर पठाए। मैले मास्टरले भने अनुरुपै माटो बनाएँ, मल हालेँ र गहिरो खनेर बीउ रोपेँ। ममीको अनुभवले भन्यो, त्यति गहिरो रोप्नु हुँदैन। मेरो पढाइ गर्ज्यो, पढेको मान्छेलाई सिकाउने?
हप्ता दिन बित्यो। अरुको बीउ टुसाउन थाल्यो। दश दिन बित्यो। अरुको दुई पात देखिन थाल्यो। दुई हप्ता बित्यो। सबैको बोडी उम्रियो। मेरो बोडीको अत्तोपत्तो थिएन। सरसँग झोक्किएँ। काम नलाग्ने बीउ दिएछन्। सरले ध्यानपूर्वक सोधे- कसरी रोप्यौ? भनेँ- तपाईले भने जसरिनै, एक हात गहिरो खनेर।
मेरा बुवा, दाजु, काकी, भाउजू पर्ने गाउले साथीहरू आँसु आउन्जेल हाँसे। म आँसु चुहुने गरी अध्यारिएँ। सरले एक हातको फरकमा रोप्नु भनेका रहेछन्। मैले डेढ अक्कल लगाएर एक हात गहिरो रोपिदिएँ।
अहिले सोच्छु किताबी परीक्षामा कति यस्ता उत्तर लेखियो होला? पढेर कपि जाँच्ने मास्टर कतिखेप रुन्जेल हासेँ होला? मलाई आफ्नो गल्तिको महशुस कहिल्यै हुन पाएन।
उक्त तालिमपछि कृषि कर्ममा विस्तारै मेरो रुचि बढ्दै गयो। एक हात खनेर बोडीको बीउ निकालेँ। अलेली खोस्रीएर रोपेँ। माटोमुनी ढाडिएको बीउ उम्रीहाल्यो। दुई पात, चार पात हुँदै हुर्किहाल्यो। कहिले मल हाल्न, कहिले पानी हाल्न, कहिले त्यतिकै बोडी हुर्किएको हेर्न दिनै बारीमा जान थालेँ।
म कविता लेखी टोपल्ने मान्छे। कविता कोठैबारीमा उमार्न थालेँ। कस्तो मिठो अनुभूति! बोडी फुल्न थाल्यो। आँगनमा रोपिएका फूल मात्रै सुन्दर देख्ने म बोडीको फूलमा भमराझैँ लोभिन थालेँ। दशैको मुखमा एक हात लामा बोडी खानलाई तयार भए। आफै टिपेर आफ्नै हातले पकाएर परिवारलाई सब्जी खुवाउदाको अनुभूति मैले कुनै शब्दमा व्यक्त गर्न सकिनँ।
जीवनको सबैभन्दा सुखद अनुभूति आफ्नो सिर्जनाको फल चाख्दा हुँदो रहेछ। प्रीयजनलाई चखाउन पाउँदा हुँदो रहेछ। सधैं यस्ता फल चखाउने मेरा बा-आमा संसारका सबैभन्दा ठूला कवि रहेछन्। संसारका सबै किसानहरु महाकवि हुन्। सबै किसानहरु सृष्टिकर्ता ब्रम्हा हुन्। सबैलाई यिनै शब्द मार्फत कोटि-कोटि प्रणाम।
अहिले कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहेको छ। उद्योगधन्दा, व्यापार व्यवसाय सबै चौपट्टै भएको छ। रोजगारी गुमेको छ। विदेशमा श्रम गर्ने लाखौँ नेपाली बेरोजगार भएका छन्।
देश भित्रैका बेरोजगारको हिसाब किताब छैन। बिदेशबाट घर फर्केका, फर्किन ठिक्क परेका, सहरबाट गाउँ फर्केका वा गाउँबाट सहर जान तम्सिएका पाइलाहरुलाई माटोमै पिरिम बसाउन सके वर्षेनी अर्बौँको चामल, तरकारी सीमापारिबाट ल्याउनु पर्ने थिएन। बरु उता पठाउन सकिन्थ्यो होला। भेडा च्याङ्ग्रा नाकापारी धपाउन सकिन्थ्यो होला। विदेशीलाई हाम्रो स्वर्ग जस्तो देश देखाउन सकिन्थ्यो होला। श्रम गर्न होइन दृश्यावलोकन गर्न विदेश गइन्थ्यो होला।
धर्तीलाई हामी माता समान मान्छौँ। माताको काखमा बस्दा कसलाई दुख हुन्छ होला? आजभोलिका पुस्ताले धुलो माटोमा कखरा सिक्नु परेन। मैले अक्षर खुट्याउन सिक्दा कपि र पाटी दुबै थियो। पाटीमा लेख्नु भनेको माटोसँग खेल्नु हो। मैले माटोले पाटीमा लेखेको पहिलो अक्षर 'क' ले कलम समाउन मात्र सिकाएन, माटोलाई बिर्सिन पनि सिकायो।
वर्षौंपछि आज मलाई लेख्न मन लागेको छ क- कलमभन्दा पहिले म- माटो। साना नानीहरूलाई माटोमै कोरेर सिकाउन मन लागेको छ क- कलमभन्दा पहिले म- माटो।