हारेका मनहरू, अल्झिएका सपनाहरू
बन्द कोठामा कोभिडलाई
जित्न प्रतिस्पर्धामा उभिएका
निर्दोष खेलाडीहरू
उदाउँदै छन् ती पनि
दसैंका टीका र जमरासँगै
मुहारमा मुस्कान भरेर, देहमा जोस अँगालेर
आशीर्वादका हस्त र शब्दहरू पनि
आइसोलेसनमा नेपाली, नेपालीबीच
साटासाट भयो रे
आफन्त होइन नेपाली भए पुग्यो
दसैं मनाउनलाई हस्पिटलमा,
अखबारमा सूचनाका समुद्रहरू
बगिरहँदा टप्प टिप्न पाए यो खबर
मन प्रफुल्ल भयो।
थोरै चहलपहल यत्रतत्र सर्वत्र थियो
पोहोर जस्तो सीमातित थिएन
सिमिततामा महामारीसँग डराउँदै
मनाइएको यो दसैं
फरक थियो तर फूर्तिलो थिएन
सामान्य थियो, सहज थिएन
दसैंको सूर थियो, ताल थिएन
तापनि दसैं, दसैं नै थियो
चिरकालसम्म मानसपटलमा कोभिडले
अविस्मरणीय बनाइदियो।
विलासितामा रुमलिएको माहोल
थियो एउटा
विवशताको रोगको खाडलमा
अल्झिएको थियो अर्को माहोल
बालुवाटार र शितल निवासको
माहोल थियो एउटा,
तर सडक निवासको अर्को
देश एउटै, भेष एउटै, जीवनका भोगाइहरू
गगन र पातल जस्तो फरक
तापनि दसैं अविस्मरणीय थियो।
दसैं मौलिक थियो,
माहोल यादले भरिएको
घर, सहर, गाउँ, वस्ती, हस्पिटल, आइसोलेसन
सबैले दसैं मनाए,
नियन्त्रण त मानवलाई कोभिडले गर्यो
मेरो देशको संस्कार र संस्कृतिलाई होइन
त्यसैले महामारीमा पनि
चिरकालसम्म यादगार रह्यो
२०७७ को दसैं।