सबै जनाको अनुहारमा उदासीपन देखिन्छ। घरमा रहेका जेठा छोरा रामवीर विक सबै चाँजोपाँजो मिलाउँदैछन्।
अनुहारमा न चमक देखिन्छ न निराशपन नै। पुरानो नोकिया फोन छोरालाई दिँदै मामाघरमा फोन लगा भन्दै अह्राउँदै घरभित्र छिर्छन्। टोल छिमेकका मानिसहरू भेला हुने क्रम जारी नै छ।
आँगनमा सेतो कपडाले छोपिएको लतमन्न शव छ। यो रामबीरको ७० वर्षे आमा फूल कुमारीको हो।
समय दिउँसोको तीन बजिसकेको थियो।
‘बेला घर्किसक्यो, लु अब चाँडो गरौं।’ भद्र सुनवीर विक फलाके।
छोरा सत्यमान मामाको फोन लाग्यो भन्दै भित्रतिर दौडियो। रामवीर आत्तिँदै एकै सासमा आमाको मृत्यु भएको खबरको साथ माइती गएकी मिश्री (श्रीमती) जो मामाघर छिमेकीमा पर्दछन्, लाई खबर गरी तुरून्त आजै आउनको लागि खबर गर्न अनुरोध गर्दछन्।
मामाले के कति कारणले भयो भनेर बुझ्न खोज्दैथिए, रामवीरले फोनको रातो बटम थिचिहाले।
मोबाइलको रातो बटम थिच्नु र अर्को फोनको रिङ बज्नु एकसाथ भयो।
अनकनाउँदै रामवीर फोन उठाउँछन्, भाइले गरेको रहेछ।
अघिल्लो दिन बेलुका काठमाडौं रहेका भाइले फोन गर्दा आमा सञ्चो नभएको कुरा भएको थियो। एकै सासमा आमा बितेको खबर सुनाए।
“तँ बिस्तारै आउँदै गर कान्छा, हामी यहाँ दाहसंस्कारको व्यवस्था गर्दैछौं।” भाइ काठमाडौंतिर परिवारसहित बस्थे। यतिञ्जेल शव बोक्नको लागि बाँसको नल तयार भइसकेको थियो।
केहीछिन पछि अगाडि शंखको तारान्तार तु .... तु...... ध्वनि गुञ्जायमान भयो। अगाडि शव, पछि पछि मलामीको लस्कर औरालै लागे सिस्नेरी खोलातर्फ।
कोही मलामीहरू दाउराको काँधमा बोकेका थिए। घाट नजिक रहेको जंगलमा आवश्यक दाउरा जोहो गर्नका लागि कोही भने कुखुरी भिरेका र बञ्चरो आदि बोकेका थिए। । हेर्दाहेर्दै घर तलको डिलबाट मलामीको लस्कर पटाक्षेप भयो।
आ-आफ्नो चलेको संस्कार अनुसार गरिने कर्म त गर्नु नै पर्यो्। गाउँमा जनसंख्याको हिसाबले धेरै भएको तामाङहरूको परिवारमा यस्तो हताहती भयो भने कम्तिमा १ दिन घरमै राखेर पूजा लगाउँछन्। मर्नेबित्तिकै बाहिर लैजानु अर्थात् घाटमा लैजानु मृतकप्रतिको अपमानको रूपमा लिइन्थ्यो। तर आज यहाँ यसो हुन सकेन।
एक छोरा काठमाडौंमा रहेकालाई पनि कुरेनन्, जो घरमा आइपुग्न बलेरो गाडीमा लगभग पाँच घन्टामात्रै लाग्छ। नातेदार आइपुग्ने जति आउँदै होलान् बाटोमा। मलामीको लर्को लामै भयो। तामाङ बस्तीको घना बीचमा केही घर नेपाली (दर्जी) र विकहरू रहेको यस गाउँमा मर्दा पर्दा सबै समुदायको मान्छे सहभागी हुनु सहयोग गर्नु गजबको चलन रहेको छ।
मूलत: २०४६ को जनआन्दोलनपश्चात् कांग्रेस र तत्काल जनमोर्चा भन्ने पार्टीका कार्यकर्ताबीच मारामारको अवस्था रह्यो। कांग्रेस समर्थित मानिसका घरमा केही राम्रो या नराम्रो काज भोज भयो भने इतर पक्षका मानिसहरू सहभागी नहुने र जनमोर्चा समर्थितको घरमा यस्तै भयो भने नजानेसम्म र बाटोमा नातेदारका मानिस भेट्दा बोलचाल समेत बन्द भयो।
०४६ सालको प्रजातन्त्रका नराम्रा पक्ष यसरी उजागर भयो। राम्रा पक्षहरू पनि यसै क्रममा मिसिए। कोही कसैको घरमा मरण भयो भने त्यसबेला रु. ५० अनिवार्य दिनुपर्ने गरी कार्यारम्भ भयो। कतिपयले तत्कालको समयमा रकम बढी भयो भन्ने पनि भयो। तर चलन स्थापित भइछाड्यो। यसरी रु. ५० बाट चलेको चलन हाल आएर गक्ष अनुसार दिने चलनमा स्थापित भयो।
सक्नेले हजारै, नसक्नेले २।४ सय सहयोग गर्ने परम्परा जस्तै भइसक्यो। यति दिनुपर्छ भन्ने भने छैन। यसरी सहयोग गर्ने रकमको विवरण कपीमा लेखेर राखिन्छ र अरु गाउँलेलाई अभर पर्दा आफूलाई प्राप्त भएको रकममाथि केही थपेर सहयोग गर्ने चलन छ।
यो सहयोग गर्नको लागि नै भए पनि सबै समुदायबाट मलामी जाने परम्परा हाल बसेको छ। यही सहयोगको लागि पनि गाउँले मलामी जाने गर्छन्। जुन समाजको सकारात्मक परम्पराको सुरूआत हो जस्तो लाग्छ।
हेर्दाहेर्दै घरबाट मलामीको लर्को पटाक्षेप भयो। टाढाबाट कानमा निरन्तर उराठिला शंखको ध्वनि मात्र तु$ तु सुनिरहेको थियो। मलामीमध्ये कै एकले कुरा राखे।
अस्ति म रामवीरको घर हुँदै निस्कँदा पिंढीमा बसेर कुन्यु सुकाउँदै थिन्, ठिकै छ बाबु भनेथे। आज यस्तो भो, के रहेछ कारण ? भीडबाट एक जनाले जवाफ फर्काए, हिजो दिउँसोबाट पेट दुख्यो भनेर पेट समातेर बस्नु भएको थियो रे। मेडिकल गएर छोराले औषधि ल्याएर पनि दिएका रहेछन्। रातभर नि राम्रो सँग सुतिनन् रे। अलि साह्रै भएपछि सबै भेला जम्मा हुँदा हिजो केही खाइथ्यौ भनेर सोध्दा मुश्किलले चिनी चिनी मात्र भनिन् रे।
“उमेर ७० भए पनि त्यति धरै गलेको त देखिन्थेन, कर्मको खेल” एक जनाले थपे।
सबै जना घाटमा पुगे। कोही दाउराको लागि रूख काट्न जंगलतिर लागे। सबैले एकाध घन्टामा दाउरा जम्मा गरे, दाउराको चाङ लाग्यो। त्यतिबेलासम्म गर्नुपर्ने प्रचलनको अन्य विधिहरू सम्पन्न भइसकेको थियो। दाहसंस्कारको लागि चितामा राख्ने बेला लगाएको कपडा फुकाल्ने बेला रामवीरले अन्तिमपटक आमालाई हेरे।
दलित परिवारको गरिब परिवारमा जन्मेका रामवीरलाई बनीबुत्तो गरी आमाले हुर्काएको, अरूको मेलामा जाँदा सँगै लगेको, आमाको लागि दिएको खाजा साँचेर आमाले दिएको यावत कुराहरू एकैपटक मानसपटलमा गुज्मुजिर आए। यति धेरै माया गरेर हुर्काएका आमालाई दागबत्ती दिनै नपरे हुने थियो भन्ने कुराले मनमा दह्रोसँग बढ्यो, म दिन्नँ भन्ने मनभरी आयो।
आ जे पर्ला पर्ला म आज दागबत्ती दिन्नँ भन्छु भन्ने आँट गरेर कान्छा काका श्यामवीरलाई छेउमा बोलाएर आफ्नो कुरा राखे।
“जसले मलाई यति धेरै माया गर्थे, जसले मेरो लागि दु:ख गरे, उसैको मुखमा म आगो झोस्न सक्दिनँ काका” भन्दै भक्कानिए।
“तैंले तेसो भनेर हुन्छ ? आमाको आत्मालाई शान्ति नै यसो गर्दा मिल्छ भनेर सदियौंदेखि हामीले गर्दै आएको चलन तैंले गर्दिनँ भनेर हुन्छ ? तेरो भाइ पनि आज यहाँ उपस्थित छैन। तेसो नभन भतिज, चलिआएको चलनमा चल्नु पर्छ। तँलाई पाउने बेला तेरो आमा मलाई पिण्ड दिने छोरा जन्मियो भनेर कति खुसी भएकी थिई। यसबाट तँ भाग्न पाउन्नस्” श्यामवीरले तर्क गरे “यही गाउँमा तामाङहरूको यस्तो अभर पर्दा सबै काम लामाले गरेको हामीले देखेको छु। मरेपछि नदेखेको स्वर्ग र नर्कको कुरा गरेर मबाट थप पाप गर्न सक्दिनँ काका ।”मुटु नै फुट्ला जस्तो भएर आयो। रामवीर ह्वाह्वा रूँन थाले।
सबैको ध्यान उतै गयो। काकाले थम्थमाए, “तिम्रा बाजे बज्यूको दागबत्ती तेरा बा र मैले द्या हुँ, त्यसो नभन जेठा।” भन्दै उठेर हुलमा मिसिए।
यतिञ्जेल रूख काटी दाउरा ल्याएर चिता तयार भइसकेको थियो। जति पीडा भए पनि रामवीरले ती सबैसामु देखाएनन्।
घरमा देखिएभन्दा अलि फरक चीर निद्रामा रहेकी आमाको ओठ केही नीलो र साबुनको गाँज जस्तो मुखमा देखे। भारी मन लिएर दागबत्ती दिए।
दागबत्ती दिएपछि खातामा आफूले सक्ने रकम सहयोग गरेर मलामी बिदा भए। ५५ हजार चानचुन रकम जम्मा भएछ। सबै काम सक्दा झण्डै बेलुकाको नौ बजेको थियो।
सबै अस्तु सेलाएपछि घर फर्किंदा रातको १०:३० बजेको थियो। रामवीरसहित सबै जना घरमा आइपुग्दा रामवीरकी श्रीमती पनि माइतबाट फर्किसकिछन्। मामा पनि आइपुगेछन्। घरको माहौल फेरि एकाएक स्तव्ध भयो सबै जनाले रूवाबासी गरे।
थमथमाए, सान्त्वना दिए एकअर्कालाई। शाश्वत सत्य सबैले स्वीकार्नै पर्दथ्यो आखिर। कुराकानीकै क्रममा चिनी चिनीको कुरा पनि उप्कियो।
रामवीरको श्रीमती एकाएक कालो नीलो भइन्, र भनिन्, “अस्ति मैले विष्ट कहाँ जाँदा झिंगा मार्ने औषधि देखेर मागेर ल्याएकी थिएँ, बाहिर आँगनमा झिंगा आउने ठाउँमा राखेकी थिएँ, त्यै खानु भएछ कि क्या हो ?” एकाएक सान्नाटा छायो, जे हुनु भइसकेको थियो। विलौना गर्नु शिवाय केही बाँकी थिएन। झिंगा मार्ने औषधि खाएको भन्ने समयमा नै थाहा पाएको भए त्यही अनुसार उपचार गर्न सकिन्थ्यो कि ? भन्ने बहस भयो। सामान्य सुविधा सहितको हेल्थपोष्ट रहेको त्यस गाउँमा के औषधि थियो होला र ? भन्ने कुरा पनि भयो।
बिरामी हुनुको कारण थाहा पाएको भएता पनि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न लैजाने हैसियत रामवीरको थिएन नै। रातको बाह्र बज्नै लाग्दा काठमाडौंबाट भाइबुहारी पनि आइपुगे। पुन: एक पटक घरमा रूवाबासी भयो। छलफल भयो। गलफत्ती गरे।
हुनु जे भइसकेको थियो। चिनीको बनावटमा रहेका माखो मार्ने विषमाथि छलफल भयो। विषजन्य औषधि चिनी भनेर यी ७० वर्षे आमाले त खुट्याउन सकिनन्, बालकले के चिन्ला ? बच्चाहरूबाट टाढा राख्नु पर्ने रहेछ, सावधानी अपनाउनु पर्ने निष्कर्ष निस्कियो। युरिया मल पनि चिनी जस्तै आउँछ त ! अर्कोले थपे।
कम्तिमा बनावट एकै खालको नभएको भए आजको दु:खद् घटना नहुने थियो कि भन्ने विषयमा गहन छलफल भयो।
“आमाकै अगाडि थुप्रै तन्त्र फेरे, तर विकास धिमे गतिमा भयो। केन्द्रबाट सवारी साधनसँग जोडियो, तर आवश्यकीय सुविधा सहितको पहुँचको तन्त्र आमाले भोग्न पाइनन्, र सुविधा सहितको स्वास्थ्य सेवा यसै ठाउँमा हुन सकेन। नत्र मेरी आमाले यति चाँडै प्राण त्याग्नु पर्दैन थियो होला,” कान्छो छोरा तनवीरले लामो सास फेरे।
व्यवस्था माथि खोट लगाए। वातावरण शून्य भयो। फूल कुमारीलेको ज्यान सक्न मात्र एक चिम्टी चिनी काफी भयो। फिकर एक चिम्टी चिनी ...