साइँला दाइ,
गाउँको ठीक बीचबाटै
लामो धर्सो तानेर
खिचियो सडकको नक्सा!
आए बडेमानका साधन! औजार
र
ढालेर गए
मार्सी धानका दुधिला बालाहरू!
बारीको डिलैमा रहेको बाजेले सारेको
तमौको बुट्टा!
स्कुले केटाकेटी चढिरहने त्यो पाठशाला छेऊको
मेहलको रुख!
सबै हराए
सँगै
भत्कियो काउले खोलामा बग्ने पानीको बाटो।
हो साइँला दाइ,
यसरी मेरो गाउँ
सहर बन्न हिँड्यो।
कुद्न थाले
दुई-चार पांग्रे धूवाँ र धुलो उडाउँदै!
मेटिँदै गए पुर्खाले आफ्नै पैतालाले
खनेका साना बाटा-गोरेटाहरू!
अब हुँदैनन्
गाउँको मध्यभाग ‘खाडल’मा
दु:ख-सुख गाउँले बातहरू
अब त सडक छेऊका पसलहरूमा
सराब गनाउँछ! मान्छे गनाउँछन्!
हो साइँला दाइ,
बाटो फराकिलो भयो
तर
गाउँले मन साँघुरिँदै गयो।
आजभोलि त्यही बाटो हिँडिरहँदा
छुँदैनन् मलाई! अहँ! पटक्कै छुँदैनन्!
खेतका डिलमा उम्रिने
ती भट्ट र मासका टुप्पाले
कोदोको टोब्रा र गहुँका बालाले
खेतका भित्तामा निहुरिँदै बसेका
ती सिरुपाते घाँसले!
अहँ!
अब खुट्टाले महसुस गर्न पाउँदैनन्
खोला छेऊका गोल्को र पानीका छिटाले।
हो साइँला दाइ ,
अब त गाउँ
सहरिया भइसक्यो।
खै साइँला दाइ,
देशलाई दिमागले नाप्न हिँडेकाहरूको
मनको आयतन र आकार
यति सानो र साघुरो हुँदैछ कि
परिकल्पना स्मार्ट सिटीको
अब सायद गाउँहरू सहर बन्नेछन्
मौलिकता फेरिनेछ!
फेरिनेछ गाउको स्वाद!
फेरिनेछन् गाउँले परिवेश!
अब बज्ने छैनन्
रेडियोमा बजिरहने ठाडी भाकाहरू!
रङ्ग र रमाइलोमा देउडा र हुड्के नाचहरू!
हो साइँला दाइ!
विस्तारै गाउँ अब त सहर बन्दै गरेको देख्दा
मन-पेट पोल्छ!
यस्तो लाग्छ गाउँ गाउँ नै रहिदिए!
अरु विकल्पसहित गाउँ गाउँकै रुपमा विकास
भइदिए!
नमेटिने गरी
पुर्खाको पसिना
र
बगेको रगत।
साँच्चै साइँला दाइ गाउँ गाउँजस्तै भइदिए
फर्किने थिए सहर पसेका सन्तानहरू
यस्तै आपत-विपतमा
ठाउँ सम्झेर!
गाउँ सम्झेर!