तिमी छैनौ रे, म कसरी मानौं?
मेरो अस्तित्व नि तिम्रै अंश होइन र?
मेरा यी आँखाका दृष्टि हरू
मेरा सबै सुख दुःख अनि जीवन का
सबै अनुभूति हरू ती सबै
तिम्रै देन होइन र?
तर किन बारम्बार अनायास झस्किन्छु
अनि सुन्छु अप्रिय वाक्य
तिमी छैनौ रे।
मेरा पल पलमा सम्झना बनी
त मेरा निन्द्रामा स्वप्न बनी
सधैं भरि मेरै सामुन्ने त छौ नि
तिमी।
अनि किन त यो अप्रिय वाक्य
सधैं गुञ्जिरहन्छ।
तिमी छैनौ रे त, आमा।
तिम्रो र मेरो एउटै अस्तित्व होइन र?