कविता
सँगै छ, साथै छ
निरन्तर बोकिरहेको छु
कतै भारी बिसाउन पाएको छैन
चौतारीमा एकछिन,
बोझाले थाप्लो नपाट्टिए पनि
पसिना निधारमा नछुटे पनि
यता कतै गह्रौ भएर।
सँगै छ, साथै छ
कचल्टिएको घाउ टन्किएर खटाउन नसकी
डाँको छोडेर रोएको बेला
मलिन अनुहार पारेर
यी यो मलम लगाऊ भनेको पनि त थाहा छैन
सान्त्वनाको एकसरो भावमा
नरोऊ भनेर।
सँगै छ, साथै छ
मह जोडीको प्रहसन हेरेर
मज्जाले हाँसेको बेला
अलिकति मुख खोलेर
दुई चार सेता दाँत देखिने गरी
एकखेप हाँसो
फुस्काएको पनि त थाहा छैन कहिल्यै
भित्रै देखि वा! भनेर।
सँगै छ, साथै छ
तर पनि यता
'न टेक्ने हाँगो न समाउने डालो' भएर
भिरबाट खस्न लागेको बेला
काँध थाप्नु कता हो कता
दुई शब्द
राम राम भनेको पनि त थाहा छैन
सख्यभाव राखेर।
सँगै छ, साथै छ
जन्मे देखि अहिले सम्म
र मसानघाटमा सोला नचढे सम्म
पञ्चतत्त्वमा विलिन हुन,
एकोहोरो टाँसिएको टाँस्यै छ
लिसो भएर।