जसलाई आफूले माया गर्यो उसैलाई मुख खोलेर बोल्न सकेन, उसले। खाली पाना भर्न आउँछ उसलाई, त्यसमा रंगी विरंगी रंगहरु मिसाई सजाउन आउँछ उसलाई।तर, आफ्नो जीवनको पानामा रंग भर्न आएन। आफ्नो जीवन सुन्दर बनाउन कसरी ब्रस चलाउनु पर्छ उसलाई आएन। आफ्नो बगेको आँशु पुछ्न आउँछ उसलाई। तर आँशु बगाउन नपर्ने परिस्थिति मिलाउन आउँदैन, उसलाई।
आई एफ ए पहिलो वर्षमा अध्ययनरत कलेजमा एकजना केटी छे। उसले मनमनै मन पराउँछ, देखेको दिनदेखि। उनको पछि लाग्दैन, जुनबेला उनलाई देख्छ त्यतिबेला उसको मनको आकाशमा तारा चम्किन्छ। उसको दिन झिलिमिलि हुन्छ। उनको थरीथरीको चित्र कोरेर एउटा कापी घरमा छुट्टै राखेको छ। जुनदिन उनीसँग भेट हुन्छ त्यो दिन घरमा पुगेपछि उनको कपालको शैलीलाई आधार बनाएर मनमनै सम्झेर चित्र उतार्छ। उनलाई देखेको दिन उनको रुपरुपी मनमा फूलेको फूल टिपेर कापीमा नसजाएसम्म उसको ब्रस र कलमहरु झोलामा जानै मान्दैन। कलेजमा साथीहरुलाई यो कुरा थाहा छैन्।किनकि उ अति नै गोप्य छ।
कमरसम्म फैलिएको उनको कपाल, घना जंगलको एउटा हृष्टपुष्ट मोटो रुखजस्तो मुठ्ठा केशमा कल्पेर डुब्न पायो भने उ हुरुक्कै हुन्छ। पछाडी चुल्ठो पार्दा केशको २ भाग उनको निधारदेखि शुरु भएर चिउँडोसम्म छोएको हुन्छ अंग्रेजी अक्षर एसको आकारमा। त्यो उसलाई धेरै मन पर्छ। कापीमा चित्र त्यही आधारमा कल्पेर बनाएको छ।
उसले जहिले त्यहि सोच्छ कि “उ राम्री छे, म राम्रो छैन, उनलाई मन पराउनेहरु धेरै छन्, म जस्तालाई कसले हेर्छ। उनको टल्किने राम्रो नयाँ ब्रसजस्तोे चिप्लो कपाल, मेरो बिग्रीएको ब्रसको तन्द्रा जस्तो खस्रो कपाल, उसको सेतो रंग जस्तो गोरो छाला, मेरो कालो रंग जस्तो छाला, उनी भर्खर रंग भरेको ट्युब जस्ती, म निचोरी निचोरी रंग निकालेर फ्याक्न लागेको ट्युबजस्तो। कसरी हाम्रो मिलन हुन्छ ? कसरी हुन्छ, हाम्रो बराबरी हुन्छ।” क्यानभासको हरियो फाँटमा उ सक्कली कोमल फूल फूलाउन चाहन्थ्यो। यसरी मनसंग लड्दा लड्दै, आफ्नो मनको मायाको डाँडालाई जोत्दा जोत्दै छ महिना बित्यो, वर्ष बित्यो अनी डेढवर्ष बितिगयो.....। न कतै धान फल्यो न कुनै फूल फूल्योे। बिहान उठ्दा उसलाई लाग्छ, आजै उसको मन खोलेर बोल्ने दिन हो जे हुन्छ आजै हुन्छ। तर कलेज पुगेपछि उनलाई देख्दा फेरी उसको पाइला पछाडी हट्छ।
उ बि एफ ए दोस्रो वर्षको छात्र हो। कलाकारमा हुनुपर्ने गुण छन् उसमा। राम्रो चित्र कोर्न सक्ने क्षमता भरिपूर्ण छ। उसको कापीका एक एक पानाहरु कलात्मक चित्रहरुले सजिएको हुन्छ। कक्षामा जहिले पहिलो हुन्छ। रंगीन होस् या सिसाकलमले उतारेको होस् धेरै नै आर्कषित हुन्छ, उसको चित्र। चिटिक्क हुनु पर्दैन उसलाई, कपाल कहिले कोर्छ कहिले कोर्न बिर्से जस्तो गर्छ। उसलाई कलेजमा सबैले ग्रेट अार्टिस्ट भनी जिस्काउँछन्। उसलाई मनपर्छ, त्यसरी जिस्काएको। एउटा पछाडी झुण्डाउने कालो रंगको झोला, त्यसभित्र १०–१२ वटा ब्रस, अनि कुनै नयाँ कुनै पूरानो कच्याक कुच्चुक त्यसमाथि पनि थिच्नु थिचेर बाँकि भएको रंगका ट्यूबहरु, कलम छन् ५–६ वटा अनि कापी।
एकदिन उनी साथीसंग उसको कक्षामा आउँछन्। “..दाई हामीलाई तपाईँको जस्तै स्केच गर्न सिकाइदेउ न ..” साथीको अनुरोधले उसलाई लाटो बनाउछ। अझ उनको जीवनको स्वप्न सुन्दरी अगाडी उभिएकी देख्दा उसको मुटु जिउँदो भएको जस्तो बढी नै ढुकढुक गर्न थाल्छ। बोली नफुटेको बच्चाले बोलेजस्तो उसको बोली लडबडिन्छ। आफुलाई सम्हालेर उ बोल्छ “हुन्छ म सिकाइदिन्छु भोलिदेखि क्लास सकेपछि एक घण्टा मेरै क्लासमा आउनु।”
त्यो साँझ उसलाई घर पुग्न हतार हुन्छ। सोच्यो, जीवनमा पनि सूर्य उदाउँछ, मायाको न्यानोपन कोठामा छाउँछ। कहिले ओछ्यानमा पल्टेर, कहिले टेबुलमा झोक्राएर, कहिले भुइँमा टुचुक्क बसेर त्यो रात नसुतेरै बितायो आफ्नो जीवनको रंगीन पानाहरुको कल्पनामा भुलेर।
उसको छाया देख्दा मख्ख पर्ने मान्छे उसको काया अगाडी हुदाँ शितल बतासले मनमा सुस्तरी छोएर उसलाई काउकुती लगाएर गयो। मिठो आभाष, उज्यालो दिन, मन प्रफुल्ल हुने नै भयो आफ्नो स्वप्न सुन्दरीलाई आफूले जानेका बुझेका कुरा सिकाउन पाउँदा उसको अनुहार वरिष्ठ कलाकारको नयाँ चित्रकला जस्तो चमकदार हुन थाल्यो। तापनि एकतर्फि मनको तरंग उसले देखाएन।
धेरै दिन एक घण्टा दुवै एक्लै हुन्थे। उनी ध्यान लगाएर चित्र कोर्न व्यस्त, उसको मनको कुनाकुनामा सयाै हजारौ कलमका टुप्पोजस्तो चुच्चो चुच्चो एकदम बल लगाएर निस्कन खोजेका उसको चाहनाका बोलीहरुलाई उसले बल लगाएरै भित्र ठेल्छन। नानाथरी सफल असफल, प्राप्ति अप्राप्तिका कुराहरु मनमा खेलाएर आफ्नो अवस्थालाई सामान्य बनाउन हरबखत सघर्ष गरिरहेको हुन्छ।
आज दुवै केटीहरुको मन चित्र कोर्ने स्थितिमा थिएन। दुईजनाको कानेखुशी बढी चलेको थियो। खुसरफुसर खुसरफुसरले शंका लागेर सोध्यो उसले...“के को कानेखुसी हो ? भन्नै नहुने कुरा होकी ? को केटाको बारेमा कुरा गरेको हो ? मलाई पनि भनन ?” उसको जिज्ञासाले उनको साथी बोल्यो। भनी “सपनाको विहे छ दुई महिना पछि, विहे पछि उतै काठमाडौं बाहिर उसको केटाको घर जाने रे।” उसले फेरी सोध्यो “..कहाँ को हो केटा ?” उसको दोस्रो प्रश्नमा उनी नै बोली “...उ पोखराको हो”। उनको जवाफ सुनेर जीउँदो भएको मुटु सुस्ताउन थाल्यो। बसी बसी उसको खुट्टा लुलो भएको जस्तो भयो। उत्पती भएको उसको मायाको पहाडमा भुईचालो आयो त्यही पहाडमा बनेका स–साना छानाका घरहरु भत्कीनलाई हल्लीरह्यो। संग संगै उसको जीउ पनि हल्लीरह्यो। आफूलाई सम्हालेर उसले उनलाई बधाई दियो साथै शुभकामना पनि।
मनमा एउटा ठूलो भारी बोकेर बस चढेर जानु पर्ने उ हिडेर घर गयो। बाटो भरी आफूलाई गाली गर्दै आफनो बानीसंग रीसाउदै। अन्तमा आफूले उनलाई पाउन केही संघर्ष पनि गरेको छैन भनी थान्यो। उनलाई आफ्नो मनको कुराबारे भनेको पनि छैन भनी मान्यो। उनको केही दोष छैन। उसले हुर्काएको मायाको फूललाई उसले स्थान दिन सकेन उसले उसको गल्ती स्वीकार्यो। यस्तै हरप्रकारले आफूलाई नै दोषी बनाई आफैलाई सम्झाउदै गयो। आफ्नो मनमा उत्पन्न आक्रोस उसले फेरी पानामा पोख्यो। उसले अझ बढी राम्रो चित्र बनायो। यसपाली उसले उनको पूरा शरीर नै बनायो। आपूmले जप गर्दा पनि पाउन नसकेको आफ्नो स्वप्न सुन्दरीको आकृती उसले क्यानभास, सेता कागज, भित्ता जता ततै को¥यो। उनलाई चाहेको बेला सहयोग गर्न हर समय तत्पर रहन्छु भन्दै कराउँदै, चिच्याउँदै उ शान्त बन्यो।
उसको जीवन शान्त तलाउ भयो। परिवर्तन केही भएन। उसले नाम भने कमाउँदै गयो। उ साचिक्कै नेपालको वरिष्ठ कलाकार भयो। छ वर्षको अन्तरालमा एकदिन भक्तपुरको सिद्ध पोखरीमा उ माछालाई दाना ख्वाउदै थियो। उसको दिमागमा पोखरी नै क्यानभास बन्यो। आकार आकारको माछालाई उसले देख्यो। हरियो पानीमा माछाहरु कति खुशी भएको..... जे छ त्यसमै चित्त बुझ्छ यीनीहरुलाई भनी सोच्यो। एउटा सानी बच्ची आएर उसको माछालाई ख्वाउने दाना खोस्न आई। उसले हासी हासी दिन खोज्यो यत्तीकैमा एउटी महीला आएर उनलाई गाली गर्दै हुत्याएर लगी। उसले उसको स्वप्न सुन्दरीलाई चिनीसकेको थियो। दोस्रो पटक, उसको मुटु जिउँदो जस्तो ढुक ढुक हुन थाल्यो। उसले सोच्यो किन यो एक्लै छोरी संग ? उसको श्रीमान खोइ ? सोध्छु म उनलाई केही प¥यो की। उ पागल छ उनको मायामा। उसले बोलायो “सपना सपना.....।” उनले फर्केर हेरी। ओ हो।....असीम दाई ....नमस्ते। के छ हालखबर हजुरको ? हजुरको समाचार म पत्रपत्रिकामा पढि रहन्छु। धेरै धेरै बधाई छ है कलाकार भएर देश विदेशमा नाम चम्काउनु भएको छ। हामीले केही गर्न सकेन्। झन विहे पछि यस्तै हो ब्रश नै छुन भ्याउदैन।
उनको कुरा सकेपछि उसले भन्यो “...ठिकठाक छ सबै।” अनि तपाई किन एक्लै तपाई श्रीमान खोई ? उनले भन्यो “ए....वहाँ बाहिर, छोरीले आईक्रिम खाने भनेको भएर लिएर आउँदै हुनुहुन्छ।” उसले सब कुरा बुझे जस्तो गरी ए ....भन्यो। यती बेला पनि सपनाले उसको मनको कुरा पढ्न सकेन र उसले पनि पढाउन सकेन। सपनाको मायामा पागल उसले सोचेको थियो सपनालाई केही भएको भए साथ दिन अझ पनि उ तयार छ। अहिले पनि उ संग विवाह गर्न तयार छ। तर अफसोच उसको मनमा के भई रहेको छ यसपाली पनि उसले बुझाउनु परेन। उसको एक तर्फीमाया एक तर्फी नै रह्यो।