आज आइतबार ठिक दश बजे जिल्ला अदालतमा पेसीको लागि लाने तयारी छ। एकजना हवल्दार र असईसँग म तिर हेर्दै- 'चारैतिर बिमला न्यौपानेको चर्चा र हल्ला छ। देशको राष्ट्रिय अखबार र टिभीमा पूरै चर्चित भएकी छिन्। सबैले उसको सपोर्टमा बोलिरहेको छन्। बिमला न्यौपाने, आजको युगको काली माता हुन्।'
यसरी मेरो बारेमा बोलिरहँदा म थुनामा राखिएको कोठाबाट सुनिरहेको छु।
'समाजिक संजालमा जताततै भाइरल भएको छिन्' पुलुक्क म तिर हेर्दै मोटे हवल्दार एउटा मन्द मुस्कान छोडेर बोल्यो।
म आफै केही सोच्न सकेकी छैन। के गरेँ मैले? सही वा गलत। बरू तमामा चोटहरू जुन मनको कुनामा गएर बसेको छ। त्यसबाट बाहिर आउन सकेकी छैन।
कुनै पनि चिजको चाहना हुन छोडेको छ। यो एक हप्तामा जिन्दगीले यू टर्न गरेको क। जिन्दगी निकै सुन्दर लाग्थ्यो। तर अब यो यात्राहरूमा बुढो ढल्न लागेको रूख। सुकेर ओइलिएको फूल मात्रै देख्छु। तमाम सपनाहरू झरीले रुझाएर असिनाले कुटेको चरीको गुँड जस्तै भुइँमा झरेर लथालिङ्ग भएको छ।
जिल्ला प्रशासनको भित्ते घडीमा नौ बज्न पाँच मिनेट देखिएको छ। मलाई थुनामा राखिएको कोठाबाट हेर्छु।
यत्तिकैमा इन्स्पेक्टर आउँछन्। सबैले भुइँ बजारेर सलाम ठोक्छन्। त्यो केटीलाई निकालेर गाडीमा हाल भन्ने आदेश दिए। त्यही मोटे हवल्दार कि बक्सबाट कि निकालेर म भए तिर लम्कन्छ। मलाई एकटकले हेरेपछि मलाई बन्द गरिएको ताला खोल्छ।
'आउनुस्, अब अदालत जानुपर्छ।'
म बन्दी कोठाबाट बाहिर निक्लन्छु। अनि आग्रह गर्छु शौचालय जानको लागि। मेरो आग्रह स्वीकार गरेर मलाई अनुमति दिन्छन्। म शौचालयमा हल्का भएर आएपछि इन्सपेक्टरले बोल्छ- 'तपाईंले कानुनलाई आफ्नो हातमा लिएर राम्रो गर्नु भएन। तपाईंले गर्दा हेर्नुस् त पत्रकार र आन्दोलनकारीले घेरेका छन्।'
मैले केही बोलिनँ र बोल्न उचित पनि लागेन।
मनमनै सोचें, सायद तपाईको कानुन बलियो भएको भए मैले कदापि यो कदम उठाउदिन थिएँ। इनसपेक्टरले मलाई हतकडी लगाउन निर्देशन दिए। त्यही मोटे पुलिसले मलाई हतकडी लागायो। यत्तिकैमा इनसपेक्टरले गाडीमा राख्न निर्देशन दियो।
मलाई दुई जना भर्खरै अफिस आएका महिला प्रहरीले दुईतिरबाट घेरेर हिंड्न् आग्रह गरे। मलाई पछाडिको सिटमा राखेर बीचमा दुईजना महिला दुई छेउमा बसेर मलाई नियन्त्रणमा राखे।
यत्तिकैमा ड्राइभर प्रहरीले गाडी स्टार्ट गर्न लगायो र इन्सपेक्टर अर्को गाडीबाट म चढेको गाडीलाई फलो गरिरहेको दृश्य देखेँ।
'दिदी, तपाईं निकै बहादुर लाग्यो मलाई' एकजना महिला प्रहरीले भनिन्।
अर्को महिला प्रहरीले मलाई प्रश्न गरिन् 'हुन त तपाईलाई यो अवस्थामा प्रश्न गर्नु उचित होइन तर एउटा महिलाको व्यथा महिलाले नै बुझ्दछन्। त्यसैले तपाईलाई गाह्रो हुन्न भने किन यस्तो कठोर निर्णय लिनु भयो? कसरी यो हिम्मत आयो?' एकैचोटि प्रश्न तेर्साइन्।
मलाई खासमा केही कुराको जवाफ दिन मन भएन। तर उनीहरूको उत्सुकता र आफ्नोपनको अभास दिलाएकोले मैले यो घटना वर्णन गर्ने निर्णय गरेँ।
कुनै बितेका पल यति मिठा हुन्छन् जो गुलियो मह जस्तै जिब्रोमा अमिट बनेर बस्छन्। तर कुनै यति तिता कि ऐरेलु जस्तै स्वाद बिगारेर जान्छन्।
बाबा-आमा भूकम्पले सोरेर लग्यो। घरमा बाँकी रह्यौँ हामी तीन जनाः भाउजू, म र दाइ। म पसलमा क्यासियर काम गर्ने भएकोले शनिबार पनि काम गर्न गएकोले बचेँ, दाइ ड्राइभरी पेशामा थियो। प्रायः बाहिर नै हुन्छ। यसरी दाइ पनि बच्यो।
भाउजू शनिबारको हाट बजार भर्न जानु भएकोले बच्नु भयो। आमा-बाबा खाना खाएर आराम गर्दै गर्दा...।
भूकम्पले हाम्रो जीर्ण घरलाई लथालिंग बनायो। यसरी अर्को नयाँ घर बनाउने ठूलो रकम नभएकोले हामी त्यही भग्नावशेषलाई सफा गरेर टिनको अस्थायी घर बनाएर बसेका थियौं। दुईवटा कोठा, एउटामा भाउजू र दाइ अर्कोमा म बस्थेँ। भान्छा कोठा र मेरो कोठा एउटै थियो।
दाइको रक्सी खाने नराम्रो बानी थियो। रक्सी खाएपछि सबै कुरा बिर्सन्थ्यो। उसो त दाइ महिनामा दुई तीन चोटि घर आउथें तर कहिले फ्रेस भने आएन। सधैं पिएर आउथ्यों। भाउजूलाई कुट्ने गर्थ्यों।
अझ टिनले बारेको हाम्रो कोठाको सिमाना पारदर्शी जस्तै थियो। भाउजू बिरामी हुँदा पनि दाइ भाउजूसँग जबरजस्ती सम्पर्क राख्ने गर्थ्यों। भाउजू विवश भएर यी सबै अत्याचार सहदै आएको थिइन्।
म पनि विवश भएर सुन्थेँ मात्र, दाइको अगाडि गएर प्रतिरोध गर्ने क्षमता थिएन। दुई-चार चोटि प्रयास नगरेको होइन। उल्टै चोट खाएर फर्किन लाचार थिएँ। यस्तो लाग्थ्यो, दाइलाई रक्सीले राक्षस बनाउँछ।
यसरी दिनहरू बित्दै गएका थिएँ। दाइ घर नआएको पन्ध्र/बीस दिन भएको थियो। भाउजू माइत जानु भएको थियो। आकाश गड्याङगुडुङ डरलाग्दो गर्जिरहेको थियो। म एक्लै, त्यसमाथि मेघ गर्जेको साह्रै डर लाग्ने मलाई।
एक्कासी घनघोर वर्षात हुन थाल्यो। म सुतेको कोठामा पानी चुहिन थाल्यो। यो सधैँको समस्या थियो। मैले भाउजू माइत गएकोले भाउजूको कोठामा गएर सुत्ने निर्णय गरेँ। भाउजूको खाटमा गएर सुत्ने प्रयास गरेँ।
डर एकातिर थियो। अनि बिस्तारा फेरिएकोले निद्रा लागेन। मोबाइलमा समय हेरेँ, एघार बजेर तेह्र मिनेट गएको थियो। एकोहोरो एक्लै कल्पनामा डुबुल्की मार्दा मार्दै कतिबेला निदाएछु पत्तै भएन।
म निदाइसकेको थिएँ। सपनामा कसैले बोलाइरहेको जस्तो लाग्यो। टिनको ढोका ढकढकाइ रहेको महशुस भयो। मेरो निन्द्रा बिथोलियो। पानी परिरहेको अवाजमा दाइको ढोका खोल भनेर लर्बरिएको अवाज सुने।
'ए! ढोका खोल्, सुनिनस्। कुन नाठो ल्याएर सुतिराछस्' भन्ने नमिठो अवाज केही मधुरो सुनियो।
मैले गएर ढोका खोलेँ। मेघ गर्जिरहेकोले बत्ती थिएन। अध्यारोमा दाइले मलाई 'ढोका खोल्न १ घण्टा लगाउछेस ***' भन्यो। म रिसले केही बोलिनँ। एक्कासी मलाई धकेलेर खाटमा बजारिदियो।
अनि आफ्नो कामुक बासनाले मलाई चाप्यो। मैले डराउदै 'दाइ, म बिमला हो' भनेँ। उसले 'तेरो भाउजू खोइ त? म आउँदा आफ्नो धर्म निभाउन नसक्ने स्वास्नी के काम! आज तेरो भाउजूको काम तैले गर्ने हो' लर्बराउदै भन्यो।
उसले केही सुनेन, जबरजस्ती आफ्नो पन्जामा बेर्न खोज्यो, भोकाएको बाघ जस्तै। मैले दाइलाई धकेलेर भाग्न खोजेँ। मलाई दुई मुक्का छातीमा हिर्कायो। अनि म सास फेर्न गाह्रो भएर त्यही ढलेँ।
उसले मलाई त्यही पीडामाथि आक्रमण गर्यो। मेरो शरीरको सबै कपडा जबरजस्ती च्यातिदियो र निर्वस्त्र बनायो। म केही बोल्न र प्रतिरोध गर्न नसक्ने घाइते अवस्थामा थिएँ। उसले मलाई बलात्कार गर्यो।
म बेहोस भैसकेको थिएँ। अचानक जब होस् आयो, म रगताम्य थिएँ। दाइ बिस्तारामा अस्तव्यस्त भएर पल्टिएको थियो। मैले मैनबत्ती बालेँ बल्ल बल्ल उठेर। आफैलाई देखेर घृणा लाग्यो। शरीरभरि चिथरिएको डाम थियो।
जसलाई मैले भाइटीकामा मेरो रक्षार्थ टीका लगाउथेँ, आज उसको स्वास्नी हुनु परेको थियो। आफैलाई बोगटन मन लाग्यो। चलिरहेको यो सास रोक्न मन लाग्यो। एउटा रसी खोजेँ र झुन्डिएर मर्ने विचार पलायो।
जब झुन्डिनको लागि ठाउँ खोज्दै थिएँ, अचानक मेरो आँखा पर्यो जस्ताको भित्तामा टाँसिएको रौद्ररूपधारणी महाकालीको तस्बिरमा। जसले राक्षसको टाउकोको माला लगाएर आक्रमक शैलीमा जिब्रो बाहिर निकाली डरलाग्दो आँखाले हेर्दै थिइन्।
मलाई किन किन लाग्यो, अन्तरमनबाट कसैले निर्देश गरिरहेको छ। नारी कहिलेसम्म यसरी डराएर आफूले नगरेको गल्तीको सजाय भोग्ने? सजाय त अपराधीले भोग्ने हो।
कहिलेसम्म पुरूषको अन्याय सहेर बस्ने? म किन मर्ने? मर्न त अपराधी पर्ने हो। समाजमा दैनिक यस्ता घटना घटिरहेका छन्। यो नारीको लाचारीपनले नै हो भन्ने अन्तरमनबाट एउटा अवाज बोल्यो।
ममा खै कहाँबाट त्यो उर्जा आयो, डरको अन्त्य नै आरम्भ हो भन्ने एउटा महावाणी मनमा गुन्जियो।
म भान्छा कोठामा लागेँ। तरकारी काट्ने चक्कु निकालेँ अनि दाइ सुतिरहेको ठाउँमा गएँ। दाइ यसरी सुतिरहेको थियो, कुनै युद्ध जितेर खुनै खुनको रगत पिएर चिर निन्द्रा परे जस्तो।
मैले केही देखिनँ। दाइ अर्धनग्न थियो। मेरो आँखा उसको लिङ्गमा गयो। मैले सोचेँ, यसैको लागि होइन पुरूष अन्धो हुने! भाउजूलाई धेरै चोटि यही अङ्गले होइन पीडा दिने! यस्तो मनमा आयो र चाकुले रेट्न सुरू गरेँ।
दाइ एक्कासी उफ्रियो। दाइ तड्पिएर उफ्रिनु अघि मेरो हातमा दाइको लिङ्ग आइसकेको थियो। दाइ रगताम्य भएर ढल्यो। बिस्तारै सिथिल भएर प्राण त्याग्यो। मलाई भने एक किसिमको सन्तुष्टि मिलिरहेको थियो। भित्ताको देवी मलाई हेरेर मुस्कुराइरहेको भान भयो। एकछिन त्यहीँ थचक्क भुइँमा पछारिए हातमा चाकु र लिङ्ग लिएर।
अनेक कुरा खेल्न थाले मनमा। मैले निर्णय गरेँ, म चौकीमा जान्छु अनि आत्मसमर्पण गर्छु। त्यसपछि हातमा लिङ्ग र चाकु बोकेर रगतै भएर म चौकीमा आफ्नो सबै घटना सुनाएर मलाई गिरफ्तार गर्न आग्रह गरेँ।
यति नै हो। यसरी मैके एकजना बलात्कारीको सर्वनाश गरेँ।
यति भन्दै गर्दा मसँग भएको दुवै जना महिला प्रहरीको आँखा भिजेको मैले देखेँ। एकजना महिला प्रहरीले लामो सास फेरेर भनिन् 'सायद हाम्रो देशमा तपाईं जस्तै हिम्मत सबै नारीमा भएको भए आज यसरी नारी हिंसा नै हुन्थेन। म आज एउटा सच्चा न्यायको देवीलाई सलाम गर्न चाहन्छु' भनिन्।
यति भन्दै गर्दा गाडीले घचक्क ब्रेक लागायो। हामी अदालातको गेट अगाडि आयौं।
गाडीको एकतिरको ढोका खोलेर मलाई झर्न आग्रह गरिन् महिला प्रहरीले। जब मैले मेरो खुट्टा जमिनमा राखेँ, निकै ठूलो भीड मेरो अगाडि थियो। नाराबाजी चल्दै थियो। धेरैको हातमा प्ले कार्ड पनि देखेँ।
सुरक्षाकर्मीहरूलाई भीड सम्हाल्न हम्मे हम्मे भएको छ। आन्दोलनकारीहरू एकतमासले चिच्चाइ रहेका छन्। 'बिमलालाई रिहा गर, प्रतिउत्तरमा रिहा गर, रिहा गर' भन्ने अवाज एकतमासले गुन्जिएको छ।
मिडियाकर्मीहरू आफ्नो क्यामरा मै तिर तेर्साएका छन्। केही प्लेकार्ड पनि देखेँ जसमा लेखिएको छ `बलात्कारीको लिङ्ग काट्नुपर्छ, बिमला यस युगको महाकाली हो, बिमला हाम्रो सान नारी सम्मान।' यस्तै थुप्रै कार्डहरू देखें।
पत्रकारहरूको प्रश्नको ओहिरो छ। तर मसम्म आउन प्रहरीले रोक्दैछन्। मलाई पनि खासै बोल्न र त्यी प्रश्नहरूको जवाफ दिन मन छैन। म अगाडि बढदैछु। अदालतको मुख्य द्वार तर्फ। मलाई दुईजना प्रहरी बाहेक अरूले पनि घेरेका छन्।
अचानक मेरो नजर पर्यो `बलात्कारी कसैको लोग्ने, बाउ र छोरा होइन´ भनेर लेखिएको प्ले कार्डमा। मेरो आँखा झट्ट उनको अनुहारमा पुग्यो। हाम्रो आँखा जुध्यो। उनी कोही नभएर मेरो भाउजू थिइन् जसको सिन्दुर मैले मेटाएको थिएँ।
मलाई सबैभन्दा ग्लानी कोहीसँग थियो भने भाउजूसँग थियो। एउटा श्रीमान् खोसेर विधवा बनाएको थिएँ। म कसरी उहाँसँग फेस गर्ने, त्यो निकै कठिन थियो मेरो लागि। मैले हिम्मत गरेर अगाडि बढेँ। भाउजूले कस्सेर अँगालोमा बेर्नु भयो।
'क्षमा गर्नुस् भाउजू मलाई' भनेर नसक्दै भाउजूले मलाई भन्नुभयो 'जति अपराध बोध मैले तपाईको दाइको श्रीमती हुनुमा गरेको छु, त्यति गर्व तपाईं मेरो नन्द हुनुमा गरेको छु। तपाईं अबदेखि मेरो मात्र होइन, सारा दुनियाँको आदर्श हो।
घरेलु हिंसामा फसेका सबैको उज्यालोको दियो हो। तपाईले एउटा आशाको फूल रोप्नु भएको छ। जुन फूलले सारा नारीको मगजमा एउटा विद्रोहको सुगन्ध छोडेर गएको छ। तपाईले यो युगलाई डरको अन्त्य नै आरम्भ हो भन्ने सन्देश दिनु भएको छ। गर्व छ नानू' भनेर फेरि अङ्गालोमा कसेर रुनु भयो।
मैले आफ्नो आँसुलाई रोक्न सकिनँ। यतिकैमा महिला प्रहरीले 'हिडनुस्, दश बज्न लाग्यो' भनिन्।