बुन्दै थिएँ आफ्नै सपनाको महल
खुसी खोज्दै थिएँ आफ्नै आँसुका थोपाहरुमा
खोज्दै थिएँ सार्थकता जिउनुको
मन्द मन्द हावाको स्पर्शसँगै
गुन्दै थिएँ अन्तरमनका तरंगहरु
दिनभरको थकान मेटाउन साँझ
बास खोज्दै हिँड्ने पंक्षी जस्तै
खोज्दै थिएँ म आफ्नो उडानको गन्तव्य
तर,
सपनाको महल रंगिन नपाउँदै
जीवनको रंग नै उड्न पुगेछ
आँसुका थोपा बहन नपाउँदै
कसैले दृश्य नै धमिलो बनाइदिएछ
हावा पनि मानौँ बहदैँछ मलाई गिज्याउँदै
अनायासै जिन्दगीको यात्रामा ठेस लाग्न पुगेछ
सधैँ कल्पनामा डुबुल्की मार्ने मेरा सपना
आज आफ्नै अस्तित्व खोज्दै
भावविहीन बुख्याँचा जस्तो ठिंग उभिइरहेछ
गन्तव्यको संघारमा।