कविता
कसैले लेख्न सक्छ
तिमी पोथी हौ- बास्न पाउँदैनौ!
कसैले भन्न सक्छ
तिमी नारी हौ- हाँस्न पाउँदैनौ!
कसैले औंला उठाउन सक्छ
तिमी केटी हौ- मनलाग्दी मस्किन पाउँदैनौ!
कसैले कु-संस्कार सिकाउन सक्छ
तिमी बुहारी हौ- घुम्टो ओड, मुहार देखाउन पाउँदैनौ!
कसैले धम्क्याउन सक्छ
तिमी श्रीमती हौ- श्रीमानले कुटेपनि बोल्न पाउँदैनौ!
यहाँ त
चोकचोकमा हुन सक्छन्
बधुशिक्षा लेख्ने भानुभक्तहरु,
गल्ली गल्लीमा भेटिन सक्छन्
तिम्रो जवानीको दाम गर्ने दलालहरु,
घरघरमा देखिन सक्छन्
तिम्रो अंग-अंगमा डुलिरहने दूषित आँखाहरु,
तिम्रै वरपर जन्मिएका हुनसक्छन्
स्त्रीद्वेषी रोगी मानसिकताहरु
त्यसैले फेरि एकपटक
उद्याएर चेतनाको खुकुरी
बोकेर शब्दको गोली
लिएर कलमको भाला
नारी, अब तिमी जाग्नुपर्छ
अनि
टुक्र्याउनु पर्छ तिम्रो चरित्र माथि
ठडिने ती पतित औंलाहरुलाई,
टालिदिनु पर्छ बधुशिक्षा पढाउनेका
प्रतिगामी थुतुनोहरुलाई,
नामेट पारिदिनुपर्छ पोथी बास्नु हुँदैन भनेर
बास्नेहरुको ढोंगी अस्तित्वलाई
अन्त्य गरिदिनुपर्छ
बजार पुगेर आएकी चेलीलाई
चरित्रको कठघरामा उभ्याउने
यो समाजको अहंकारलाई,
जलाइदिनु पर्छ संस्कारको नाममा पढाइने
बधुशिक्षाका पानाहरुलाई,
च्यातिदिनु पर्छ बलात्कारी बचाउन गरिने
कथित सम्झौताका कागजहरुलाई
साँच्चै...
नारी, अब तिमी जाग्नुपर्छ
अनि
बल्ल हुनेछ पितृसत्ताको अवसान
ढल्नेछ अन्यायका खम्बाहरु
जल्नेछ
पोथी नबास् भन्दै लेखिने पानाहरु
र जित्नेछौ तिमीले
बाल्नेछौ लैंगिक समानताको दियो
अनि मनाउँने छौ तिम्रो आफ्नै विजय दिवस
युग युगसम्म बाँचिरहने साँच्चैको नारी दिवस।