मस्तिष्कमा उसका सपना बने
नयाँ मान्छे देखेर,
नयाँ कुरा सुनेर,
नयाँ पाठ पढेर,
चाङ माथि चाङ, इच्छा र चाहना
एकपछि अर्को तहमा अडेर।
ऊ हिँड्छ
सपनाको सहरमा
सफलताको सगर चढ्न,
इतिहासको सभ्यता र भविष्यको भव्यता पढ्न,
उसले बुझ्यो 'आँटको स्रोत पैसा हो'
ऊ हिँड्यो पैसाको लागि समयविरुद्ध लड्न।
छोरा हो ऊ, कर्तव्यको भारी बोकेरै जन्मन्छ,
बा-आमाको दु:ख र जिम्मेवारी हेरेरै हुर्कन्छ,
कर्तव्यहरु निर्विकल्प छन्
सपनाहरु वैकल्पिक बन्दिन्छन्
चाहनाहरु निरीह भैदिन्छन् अनि
सन्तुलन मिलाउने उपाय खोजेरै समय गुज्रन्छ।
समयको खेल न हो
उसको पक्षमा कहिलै भएन,
योजनाहरुले प्रतिफल दिने पल नै आएन,
समय र सम्बन्धहरुलाई बन्धकी राख्दा राख्दै
समयले लग्यो बुढा ती बा-आमालाई
आँगन र दैलोमा शून्यता बाहेक केही रहेन।
छोरोले पाएन आउन
बा-आमाको त्यो कहालीलाग्दो मरणमा,
पाएन छोराले पर्न जन्मदाताको शरणमा,
क्षमता हुनु र अवसर पाउनुमा फरक कुरा पो रहेछ
परिबन्धमा पर्यो ऊ
सीमित रह्यो केवल मालिकको दानवी चरणमा।
बस!
बाँकी रहे अब ती अनुहार सम्झनाका तरेलीमा,
हरक्षण नओभाउने आँखाका परेलीमा,
चटक्कै बिर्सेर चाहना र कामनाहरु
फर्कन्छ ऊ,
बा-आमा सुसाएका वर-पिपलको छहारीमा,
धारा पधेरी र पाखा अनि पखेरीमा।
तर,
आशाको ज्योति निभेर जाँदैछ मनको मझेरी माझ
सपना र कर्तव्यको मिलन बिन्दु खोज्दै हर बिहान साँझ।