बेलुका भैसकेको थियो। हुन त त्यो समयमा साउनीको होटेलमा मैले धेरै पटक चिया खाइसकेको थिए। असाध्य मिठो लाग्छ उनको हातको चिया मलाई। सुकमेलका गेडालाई धुलो बनाएर हालेकी हुन्छिन् चियामा। घरमा खाएको भन्दा फरक लागेर हो की अथवा साच्चिकै सुकमेल हाल्दा चिया मिठो नै हुन्छ? मलाई थाहा छैन।
घरबाट अफिस अनी बजार गएकोबेला दिनमा ४/५ पटक साउनीको चिया खाने गर्छु। कुनै दिन छुट्यो भने दिन नै अपूर्ण झै लाग्छ। म कुनै दिन त्यहाँ गएन भने भोली पल्ट उनले ‘किन नआएको?’ भनेर सोध्ने गर्छिन। मलाई यो सवालको जवाफ दिन भन्दा पनि समय निकालेर दैनिक त्यहाँको चियाँ पिउन जान मन लाग्छ। उनले अरु कसैलाई त्यसरी सोधेको मलाई जानकारी छैन। यो आधारमा उनले पनि मलाई खोज्छिन् भन्न पनि सक्छु म। तर किन खोज्छिन भन्ने सवालको जवाफ मसँग छैन। म पनि किन उनको होटेलमा उपस्थित हुन प्रयत्न गर्ने गर्छु भन्ने कुराको जवाफ पनि मसँग छैन।
चना, अण्डा, आलु अनि राँगाको सुकुटीको आइटम पनि बेच्छिन् साउनीले। उनका ग्राहक भनेका चिया खान र तिनै सित्तनसंग रक्सिखान आउनेहरु नै हुन्। उनि बिहान देखी बेलुकासम्म चिया, अनी अलि अँधेरो हुनथाल्यो भने रक्सि पुराउन पुरै व्यस्त हुन्छिन। भित्रको कोठामा एउटा टेवल र दुइबटा बेञ्च छन्, अनी काउण्टर नेर (काउण्टर भनु की किचेन, संगै छ) दुई वटा टेवल र ४ वटा बेञ्च। यती फर्निचरमा अट्ने मानिसमात्र उनका ग्राहक हुन्छन् एक पटकमा। मध्यान्न केही घण्टा बाहेक अरु सबैबेला ‘हाउसफूल’ नै हुन्छ उनको होटेल। उभिएर चियाँ पिउने पनि हुन्छन्, अनी कोही उठे भने रक्सि खाउँला भनेर कुर्नेहरु पनि हुन्छन्।
साउनीको जाँगर देखेर म छक्क नै पर्छु। ‘कुक’, ‘वेटर’, ‘क्यासिएर’ मात्र होइन, भाँडा सफा गर्ने भूमिका पनि उनि एक्लैले गरिरहेकी हुन्छिन्। उनका श्रीमान छैनन्। मैले सोध्दा पनि उनले भनेकी छैनन्। एक पटक मैले सोध्दा उनले प्रसंग बदलेर फिस्स हाँस्दै भनेकी थिइन, ‘तपाईको जुँगा कति राम्रो छ है।’ आफ्नो श्रीमानका बारेमा भन्न नचाहेको रुपमा बुझे मैले, त्यसपछि कोट्याएर सोध्नेकुरा पनि भएन। एउटा छोरा र एउटी छोरी नेपाल प्रहरीको जवान छन्। ठूली छोरीको बिहे भैसकेको छ। ठूलीछोरी तर्फकी एउटी ५ बर्ष उमेर जतिकी नातिनी नै उनको साथी हो। हजुरआमाको व्यस्तता राम्ररी बुझेकी छिन् ति नातिनिले। त्यसैले उनी आफै खेलिरहेकी हुन्छिन सधै। कहिलेकाही आफ्नो पछाडी बोकेर पटुकाले बाँधेकी हुन्छिन्। तर, नातिनीले हजुरआमालाई ‘डिष्टर्ब’ गरेको मैले एक बर्षमा देखेको छैन।
साउनीको होटेलमा चिया पिउन थालेको एक बर्ष भएछ। उनको होटेमा पाइने रक्सी बाहेक सबै कुरा चाखेको छु। अत्यन्त मेहेनती र मिठो हात छ उनको। तारिफ योग्य हातहरु।
त्यति बेलुका म चिया पिउन गएको त्यो दिन पहिलो पटक भने थिएन। मसंग त्यो दिन मालपोत कार्यालयमा काम गर्ने एकजना मित्र पनि थिए। उनी यो होटेलमा पहिलो पटक आएका हुन्। मेरो स्कूले जिवनका सहपाठी हुन उनी। कुनै बिषेश प्लान त होइन, तैपनि धेरैका भेट भएकाले खाजा खाने गरी त्यहाँ गएका थियौ। म उस्तै थिए, दिन उस्तै थियो, बेलुका उस्तै थियो, साउनी उस्तै थिइन, होटेल उस्तै थियो, केही बिशेष थिएन आज। बाँस र माटो बाहेक अरु कुनै कुराको प्रयोग नगरिएको भित्तैभित्ताको होटेल छ त्यो। आज दुईजना मित्रहरु जुटेर त्यहाँ भित्र छिरियो। भित्रको टेवलमा बसेर गफ शुरु भए। उसले होटेलकै बारेमा साध्यो।
‘मैले चिया पिउने होटेल हो यो, अरु खास केही होइन।’
‘अलि ‘स्ट्याण्डर्ड’ होटेलमा लगेको भए’नी हुने’
‘होटेलमा खाने हो, बहुत मिठो र सफा हुन्छ यहाँ’
‘तै पनि, अरुले देख्दा पनि झुप्रोमा पसे भन्छन् नी’ उसले ‘स्ट्याटस’ सम्झाउन थाल्यो।
मैले उसको कुरामा ध्यान दिएन। साउनीले राँगाको सुकुटी खुब मिठो पकाउछिन् भन्ने सूचना दिए बरु।
उ नपत्याएको सन्देश दिने गरी फिस्स हाँस्यो।
‘‘बढी दुकान फिकी पकवान, छोटी दुकान मिठि पकवान’ भन्ने हिन्दी उखान अब सार्थक हुनेछ, तिम्रा लागि यहाँ, खाइ त हेर’ मैले भने।
अनी सुकुटी ‘अर्डर’ भयो। एक छिनमा साउनीले सुकुटी ल्याइन। सुकुटीको ‘टेस्ट’ लिए पछि उ हास्यो र ‘मिठो रहेछ’ भन्ने प्रतिक्रिया दियो पनि। उ अलि अलि रक्सी पनि खान्छ। म नखाने। आज उसले मलाई कर गर्दै छ।
‘४० बर्ष काटीसकेपछी त खाँदा केही हुँदैन, हल्का शुरु गर्दा हुन्छ’
‘अलि ‘स्ट्याण्डर’ ठाँउमा खाँउला नी’ मैले उसको प्रस्तावलाई पन्छाउदै भने।
‘सिक्ने यस्तैमा हो, अरु कोही छैन, हल्का लिदाँ केही हुँदैन’
‘मलाई कसरी खान्छन् भन्ने नी थाहा छैन, खाएर के हुने हो, त्यो पनि थाहा छैन’ म पन्छिन लागे। तर उसले निकै कर लगायो। नाइ भन्न नसक्ने मेरो कमजोरीको उसले फाइदा उठायो आज। म ‘रक्सी पिउन’ सहमत भए।
हाम्रो सल्लाह साउनीलाई थाहा छैन। मैले गिलास टेवुलमा ट्वाक ट्वाक पारे। उनी आइन। हामीले केही भन्नुभन्दा पहिलेनै उनी बोलिन् ‘अरु केही ल्याउने हो की सरहरुलाई, रक्सी खानुहुन्छ भनेर सोध्न पनि गाह्रो, कस्तो व्यवसाय गरिएछ भन्ने लाग्छ कहिलेकाँही त’
साउनीले यति भनेपछी उनले ढिलो ‘सर्भिस’ गरेको गुनासो गर्ने ठाँउ पनि भएन। मलाई के भन्ने के भन्ने झै भयो। अनी अनायास मुखबाट निस्कियो ‘साथीले खाने मन गरेका छन्, ल्याइदिनुस् न त’
‘के , कति ल्याम् सर?’ उनले बल्ल खुलेर सोधीन्। मैले के कती भन्न जान्ने कुरा थिएन। मित्रको मुखमा हेरे।
‘जीन ल्याउनुस, क्वाटरमा’ मित्रको आदेशात्मक आवाज निक्कियो।
यतिबेला साउनी ‘वेटर’को भूमिकामा थिइन र यो भूमिका राम्रोसंग निभाइन। मेरा मित्रले ‘प्याक’ बनाए। ‘चेयर्स’ गरी चुस्कि लिन थाल्यौं।
गिलासमा आज रक्सी छ। त्यै टेबुल हो, जहाँ हरेक पटकको बसाइँमा चियाको गिलास हुन्थ्यो। तर आज त्यो फेरियो। साँझ छिप्पिनै लागेको थियो। आज प्रत्येक घुट्कासँगै मलाई चियाका चुस्कीहरुले गिज्याएजस्तो लागिरहेछ। सँगै एउटा साथी पनि छ। जो सरकारी जागिरे हो। उसैको ढिपीमा आज चियाको सट्टा रक्सी आएको छ। ऊ पियक्कड हो। म पहिलोचोटी रक्सी पिउँदैछु। अलि सिकारुजस्तै पिइरहेछु। पटकपटक ‘क्यै चाहियो?’ भनेर सोध्ने बाहानामा हाम्रो टेबुलमा झुल्किरहने साउनी पनि फिस्स हाँस्छिन्। लाग्छ, चिया पिउने ‘म’ भन्दा रक्सि पिइरहेको ‘म’लाई साउनीले मन पराइरहेकी छिन्। मैले कुनैबेला साउनीले मेरो जुँगाको प्रशंसा गरेको संझे, जति पटक साउनी हाम्रा अगाडी आउछिन्, मैले दाहिने हातका बुढी र चोर औलाले मेरा जुँगा मिलाउदै उनीमा नजर केन्द्रित गर्छु।
आज म पनि पिइरहेको छु, अन्य ग्राहक जस्तै। ति मित्रले ढिला खाएको हो की मैले चाँडो खाएको हो भन्ने नै मैले छुट्टाउन सकेन। उनको गिलास आधा हुँदा मैले पुरै रित्याए।
उसले मेरोमा थपिदियो। कुनै प्रतिबाद बिना मैले त्यसलाई स्वीकारे। म अहिले आफूलाई कुनै बिशिष्ट श्रेणीको मान्छे ठान्दै छु। म बाँस र माटोले बनेका भित्ता भित्र हैन, अत्याधुनिक कोठा भित्र बाताबरणको सन्तुलनकाबीचमा बसेको अभुभव गर्दै छु। साउनीको भित्रको कोठालाई मैले भूलिसकेको छु। अघि मेरा मित्रले भनेझै ‘स्ट्याण्डर’ होटेलको कोठामा आफूलाई पाइरहेको छु। ठूलै विजय उत्सवमा हराइरहेको अनुभुति हुँदैछ मलाई। मेरो हैसीयत र व्यक्तित्वका मुनी सबैकुराहरु, यो सिंगो ब्रह्माण्डा दविएको अनुभव गर्न पाइरहेको छु।
आहा....कत्ति मजा...। आफुलाई यति राम्रोसंग चिनाउने यो पवित्र कुरालाई मैले ४० बर्षसम्म ‘रक्सी’का नाममा घृणा गरिरहेको रहेछु। आफैलाई थुइक्क भन्न मन लागेको छ। तर, कहाँ अरुले देख्नेगरी थुइकक भनु? म यति ठूलो व्यक्तित्व भएको मान्छेले आफैलाई कहाँ थुक्न मिल्छ र? अघि मेरो मित्रले भनिसकेको छ, जहाँ तहाँ मेरो ‘स्ट्याण्डर्ड’ मिल्दैन भनेर। ठुला मान्छेको चिन्ता त हुदो रहेछ नी सबैलाई। यसैकारण त यो मित्रलाई मैले मायाँ गर्छु। उसलाई ‘थ्याङ्क्स’ भन्न मनलाग्यो। खुलेरै भन्न मनलाग्यो र भने पनि ‘थ्याङ्कस् मित्र, तिमिले मेरो स्ट्यास र पर्सनालिष्ट बुझिदिएकोमा’
उ अक्क न बक्क झै भयो। तर त्यता तिर मेरो ध्यान गएन। बरु बोल्दै गए ‘तिमि पनि धन्य हौ यार मित्र, यति बिराट् व्यक्तित्वको साथी पाएका छौ, मैले तिम्लाई ‘टाइम’ दिए, तिमि ‘लक्कि’ हौ यार’
उसका कुरा सुन्ने मलाई फूर्सद छैन। ‘मेरो साथी भएका कारण तीमीले पनि एसीमा बसेर पिउन पायौं यार.... ’ साउनीको त्यो कोठामा आएको चिसो हवालाई मैले गर्मीमा एसीले फ्याकेको हवा ठानिरहेको छु।
साउनीको पल्ला नभएका ढोकामा झुण्डाइएको पुरानो पर्दामा सबै ग्राहकले हात पुछ्दा कपडाका बास्तबीक रंग पुरै बिस्थापित भएको छ र टाटोले भरिएको छ। म यतिबेला ती टाटाहरुलाई पर्दामा छापिएका सुन्दर फूलहरु ठानिरहेको छु। कति सफा र सुन्दर फूल सहितको पर्दाकाबीचमा बसेर मैले आफ्नो बिराट व्यक्तित्वलाई महशुस गर्दै छु।
ऊ... पर्दा हटाउदै परी आइन। सायद यीनै हुन् कृष्णकी राधा। होइनन, यी त अप्सरा हुन्। मेरो मानसपटलमा यसरी नै त्यो रुप अंकित हुन थाल्यो। म बिराट व्यक्तित्वको धनी भएकाले त मलाई सुहाउँदो ‘रुप’ मेरो नजर अगाडी आउन सक्यो होला। अघि साथीले भनिसकेको छ ‘स्ट्याण्डर्ड’को कुरा। साउनीले पनि त म जस्तो ठूलो मान्छेलाई रक्सि खानुहुन्छ भनेर सोध्न सकिनन् नी त। म कहाँ अरु ग्राहक जस्तो हुँ र? म त बिशेष पो हुँ त। अनि म बिशेष व्यक्तित्व बसेको ठाँउमा फूलै फुल छापिएको पर्दा हटाउदै को पो आउन सक्छ र अप्सरा बाहेक?
म गिलास हातमा लिएर ती अप्सरालाई हेर्छु। मुस्कान छाइरहेको छ मेरो अनुहारमा। अलि घोरिएर हेर्छु। उनै साउनी पो रहिछिन्। तर, अचम्म, कति राम्री भएर आएकी छिन् आज साउनी म कहाँ? यति सुन्दर त थिइनन त उनी। म चिया पिउन आउदाँ उनले भन्ने गरेको संझिए,‘सर अलि लामो समय लिएन आउनुस न, सधै कप रित्तिना साथ दौडनु हुन्छ। सधै घर जान हतार किन?’ आज म हतारिएको छैन। त्यसैले हो की उनको गालामा खुशीको लाली देख्दैछु मैले। लज्जाएको मुस्कान सहित मेरो मुस्कानको जवाफ मुस्कान मार्फत नै दिइरहेकी छिन् उनले। मैले रक्सि खाएको पहिलो पटक देखेर उनी हासेकी हैनन्। ‘फिलिङ्स’ पो देखाएकी हुन् उनले। कति ‘फिलिङ्स्’ बुझ्दी रै’छिन साउनीले। स्वीटर पनि अत्याधुनिक फेसनवाल पो लगाएर आइछिन् उनि त। म आँखा मात्र हैन, टाउको नचाई नचाई हर्दै छु उनलाई। फाटेको र फोहोरले काति परेर टल्कने स्वीटर कहाँ हो र त्यो। ठाँउ ठाँउमा प्वाल परेका फेसनेवाल स्वीटर पो हो त। हेर त..... कति चम्किलो छ, हिरा मोती जडेको झै। उनको मिलेको शरिर, पुष्ठ छाती, भर्खरै व्युटिपार्लरबाट आए झैँ कपाल र अनुहार...। सायद मैले मात्र होइन, मेरो बिराट व्यक्तित्वको अनुभव उनलाई पनि भएको छ आज। त्यसैले त मेरो ‘स्ट्याण्डर्ड’ मिल्ने गरी प्रस्तुत हुँदै छिन् उनी। एक बर्षसम्म नचिनेकी साउनीले मलाई। आज कति राम्रो साइतको दिन रहेछ। उनले मलाई चिनिन् र मेरो व्यक्तित्वसंग सुहाँउदो रुप धारण गरेर एसी सहितको त्यो सुन्दर कोठामा फूलै पूmल छापिएको मगमगाउदो पर्दा हटाउदै आएकी छिन् उनी। कहाँ अनुहारमा चाँया हुनु उनको? कहाँ कोर्न नभ्याएको कपाल हुनु उनको आज त? व्युटिसिएनले रङ्गाएको अनुहार अनी पुरै छाडेर फेसनेवल बनाएको कपाल पो हो त उनको अहिले देखिएको......।
आफूलाई सही रुपमा चिन्नसक्ने हो भने त, संसार पनि त्यसै अनुकुल भैदिदो रै’छ। आज मैले आफूलाई चिनेको छु, सबै मेरो कल्पनाहरु आँखा अगाडी सत्य हुदै छन्। सुन्दरताले आफै मलाई पछ्याउदै छ। मेरा मन भित्र दविएर रहेका चाहनाहरु पनि स्वयम् अनुकुलतामा परिवर्तित हुँदैछन्। इच्छातृष्तिका अबसरहरु लाइन लागेर अगाडी आँउदै छन्। संसारमा भौतारिनु भन्दा त आफैलाई चिन्नु महान काम हो भन्ने आध्यात्मिक प्रवचनहरुको रहस्य बुझ्दै छु मैले।
साच्चिकै साउनी कति राम्री रहिछिन्। मैले आफूलाई चिन्ने दिन र साउनीलाई चिन्ने दिन एउटै परेछ आज। यति राम्री, सुन्दर अनी मोहित पार्ने मुस्कान सहितकी साउनीलाई आजसम्म कसरी मैले चिन्न छुटाए छु? मलाई मेरै क्षमतामा पनि अहिले शंका उब्जन थालेको छ। यति बिराट र बहुव्यक्तित्वको धनी मैले कसरी साउनीको मूल्यांङ्कन गर्न छुटाएछु? म वाट पनि त यो समाजमा अन्याय भएको रहेछ। यस्तै अरु पनि अन्याय गरेको छु की? मेरो दिमागमा यो प्रश्नले बेस्सरी नै हमला गर्न थाल्यो।
‘न्याय गर्न नसक्ने सबै भन्दा ठूलो कमजोरी हो, मेरो यो बिराट व्यक्तित्वलाई यो कमजोरीले थिच्दै लाने त हैन? अह... मैले आफुलाई थिचिन दिनु हुँदैन। न्याय गर्ने क्षमता मैले विकास गर्नु पर्छ।’ म चिन्तामा डुब्न थाले। मेरा मित्रले मागेको ‘क्वाटरहरु’ले मलाई चित्त बुझेन। यो चिन्ता मेटाउन र मेरो कमजोरीलाई जरैबाट उखेल्न मैले अर्को क्वाटर थप्नै पर्छ। साउनीको हातबाट नै थप्नु पर्छ। उनिसंगै खाएर उनको पनि उच्च मुल्यांकन गरिदिनुपर्छ।
मेरो अर्डर नमान्ने कुरै छैन। कस्ले ‘नाई’ भन्ने मेरो आदेशलाई? साउनी क्वार्टर लिएर आइन। आहा.... कति सुन्दरी छिन् साउनी.......। उनकै हातबाट रक्सि पिएर उनी प्रति न्याय गर्नु छ मलाई। कस्तो गल्ति भैरहेको रहेछ म बाट। उनी प्रती न्याय गर्नै नसकेको।
मलाई पश्चाताप सहतिको न्याय दिनु पो छ त साउनीलाई। एक बर्षसम्म उनलाई चिन्न सकेन मैले। पश्चाताप पनि त गर्नै पर्यो। उनको हातबाट पिउँदाको मज्जा म कसैलाई भन्नै चाहन्न। कोही फेरी साउनीको हातबाट पिउन लालायीत हुने छ त्यो मिठासको मैले बर्णन गरे भने। त्यसैले मैले भन्दैभन्दैन। उसलाई मैले पो न्याय गर्नु छ। त्यसैले अरुलाई किन भनिरहन पर्यो र? पश्चाताप गर्दै मैले पनि उनलाइ पिलाइदिए र उनले पनि मुख मिठ्याउदै खाइन। मैले खुवाउदा उनलाई मिठो हुने नै भयो। अब उनी मेरो अंगालोमा छिन्। मैले उनको टाउको मेरो छातिमा राखेर पिलाउदैछु, बच्चालाई दुध पिलाए झै।
साउनीलाई असजिलो भयो की? मैले त हो नी उनकाबारेमा सोच्ने। यतिबेला मेरा मित्र कतै निस्किसकेका थिए। होटेल पुरै खाली थियो। ५ बर्षकी नातिनी हजुरआमाको बिस्तारामा सुतेकी थिइ। अब साउनीलाई सजिलरी सुताएर खुवाउनु छ मलाई। पश्चाताप गर्ने तरिका हो यो। उनकै बिस्तरामा सुताए। त्यो सुन्दर साउनीको रुपले नै कोठा उज्यालो थियो। त्यही उज्यालोमा मैले पश्चाताप सहित साउनीलाई न्याय गरिरहे....।
बिहान भैसकेछ। बाँसको भित्ताका चरहरुबाट सूर्यले चियो गरिरहेको थियो। साउनीको त्यही कोठा, लडेका गिलास, महिनौ नधोएको पर्दा, त्यहाँ छिरे देखी नपुछिएको टेवललाई पनि सूर्यले चियाइरहेको थियो। साउनीको कट्कटिदो मैलो र फाटेको लामो स्वीटरले उनको ‘इनरहरु’ डाक्न सकिरहेको थिएन। गालामा चायाँ त थिदैथिए, र थपिएका थिए केही ‘डाम’हरु पनि। मैले साउनीलाई उठाउने साहस गरिन। अनि आफ्नो ‘बिराट् व्यक्तित्व’ लिएर होटेलबाट बाहिरिए। मनमा अन्तरद्वन्द्व चल्दै थियो कतै मैले गलत त गरेन? यत्तीकैमा साउनीले बोलाएको सुने, अनी फर्केर हेरे। उनी भन्दै थिइन्, ‘बेलुका आउनु होला है सर, हिजोको हिसाव गर्नै भुलेको रहेछु।’