यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक रुपनारायण भट्टराईलाई फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फर्काइएको छ।
उनलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागबाट मन्त्रालयमा तानेका हुन्।
सरकारले गत जेठ १० गते २८ जना सहसचिवको सामूहिक रूपमा गरेको सरुवा तथा पदस्थापनमा उनी श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका थिए।
संघीय मामिला मन्त्रालयले सरुवामा संशोधन गरेर उनलाई फेरि यातायात मन्त्रालयमै फिर्ता पठाएको हो। भट्टराईले आइतबारदेखि यातायात मन्त्रालयमै हाजिर गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए।
भट्टराई भने पहिलेदेखि नै यातायात मन्त्रालय जाने ‘मुड’मा थिएनन्। सिन्डिकेट हटाएपछि कार्यान्वयन गर्ने समयमा उनलाई विभागबाट मन्त्रालय तानिँदा शंकाको दृष्टिले हेरिएको थियो।
भट्टराईलाई विभागबाट मन्त्रालय तान्नुको कारणबारे स्पष्टिकरण दिँदै मन्त्री महासेठले अझै ठूलो काम गर्न मन्त्रालय तानिएको दाबी गर्दै आइरहेका छन्।
करिब १३ महिना विभाग सम्हालेका पूर्व महानिर्देशक भट्टराईले यातायात निर्देशिका जारी गर्दै सिन्डिकेटविरुद्ध कडा कदम उठाएका थिए। साथै उनले ८० बढी कर्मचारीलाई विभागीय कारबाही गरेका थिए।