राष्ट्रपति डा. रामवरण यादवले समाजमा महिला अगाडि नआएसम्म राष्ट्रकोे समग्र विकास हुन नसक्ने बताएका छन् । बेइजिङ प्लस २० राष्ट्रिय महिला सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले समाज र राष्ट्र विकासमा महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका रहने बताए ।
राष्ट्रपति डा. यादवले भने – “महिला अधिकार र सशक्तीकरणका लागि विश्व महिला सम्मेलनदेखि लिएर धेरै छलफल भएका छन् तर महिला अधिकारको विषयमा अझै धरै काम गर्न बाँकी छ ।”
चीनको राजधानी बेइजिङ्मा सम्पन्न चौथो विश्व महिला सम्मेलनपछि महिला जागरण र उनीहरुको हकअधिकारका लागि गाउँगाउँसम्म पनि आवाज उठाउन थालिएको बताउँदै उनले बेइजिङ सम्मेलनले तय गरेका सवालहरू अहिले पनि उत्तिकै सान्दर्भिक छ भने ।
महिला,बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी (खड्का) ले महिला हिंसा अन्त्यका लागि विभिन्न कदम चालिए पनि पुरातनवादी सोचका कारण महिला आज पनि उत्तिकै पीडित अवस्थामा रहेको बताईन।
बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा अहिलेसम्म भएका उपलब्धिमा खुसी मनाउँदै आगामी पाँच वर्षका लागि भावी दिशा तय गर्ने बताईन ।
बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालका संयोजक बन्दना राणाले सम्मेलनले विगत पाँच वर्षमा भएको प्रगतिको समीक्षा र विद्यमान चुनौतीको सामनाबारे व्यापक छलफल गर्ने बताईन ।सो अवसरमा महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका तीन अग्रणी महिला अधिकारवादी अङ्गुरबाबा जोशी, तुला राणा र डा. मीना आचार्यलाई राष्ट्रपति यादवले सम्मान गरेका थिए ।
बियोण्ड बेइजिङ कमिटी र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालको आयोजना तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने एक दर्जनभन्दा बढी संस्थाको सहयोगमा आजदेखि ललितपुरको स्टाफ कलेजमा सुरु भएको यो सम्मेलनमा ७५ जिल्लाका करिब ३०० महिला अधिकारकर्मीको सहभागिता छ ।
‘मानवताका लागि महिला सशक्तीकरण : व्यवहारमा उतारौँ’ भन्ने नाराका साथ सन् २०१५ को मार्च ९ देखि २० तारिखसम्म भएको राष्ट्रसङ्घ महिला अधिकारसम्बन्धी समितिको ५९ औँ बैठकमा बेइजिङ सम्मेलनपछिको २० वर्ष अवधिको सिंहवालोकन गर्दै नेपालको महिलाका अवस्थाबारे प्रतिवेदन तयार पार्न सम्मेलन आयोजना गरिएको हो । रासस