प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहले संघीय सरकारसँग लड्नु नपर्ने बताएका छन्।
संघीय संरचना नेपालका लागि नयाँ अभ्यास भएकोले केही समस्याहरू देखिनु स्वभाविक भएको भन्दै उनले प्रदेश र स्थानीय तह केन्द्र सरकारसँग लड्ने होइन सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।
‘कहिलेकाहीँ प्रदेश सरकार तानातानमा पर्छ। कहिले तलबाट कहिले माथिबाट’ प्रधानमन्त्री ओलीले शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै भने, ‘नयाँ जुत्ता कसोकसो नमिल्या जस्तो हुन्छ, खुट्टा दुखाउँछ। तर लगाउँदै गएपछि मिल्दै जान्छ। केन्द्र सरकार विभेदकारी छैन, सहयोगी छ।’
बीचमा रहेको प्रदेश सरकारले झन्झट मान्न नहुने उनले बताए।
‘मारामार गर्न हुन्न। अरुले हतियार बेच्छ हामी मारमा पर्छौं’ उनले भने।