प्रधानमन्त्री केपी शर्मा ओलीले बाबु वा आमा एउटाको नागरिकता भएमा उनीहरूका सन्तानले नागरिकता पाउने बताएका छन्।
नेपालको हरेक नागरिकले नागरिकताको प्रमाणपत्र पाउने बताउँदै उनले नागरिकताकै लागि कुनै झण्झट बेहोर्न नपर्ने बताए।
प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध नागरिकलाई वंशजको आधारमा नागरिकता दिन कुनै रोकावट नभएको बताए।
‘बाबु वा आमा एउटाको नागरिकता भए सन्तानको नागरिकता बन्छ। बाबु वा आमा नेपालमै जन्मिएको हुनुपर्यो’ प्रधानमन्त्री ओलीले भने, ‘भदौभित्र नागरिकता सम्बन्धी कानून लागू भइसक्छ।’
संविधान र कानून जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको भन्दै उनले केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएमा परिमार्जन गर्न सकिने जनाए। ‘हामीले नै संविधान, कानून बनाएका हौं। कहीँ हेरफेर गर्नुपर्यो भने गरिन्छ। धर्मशास्त्र बनाएको होइन, समाजलाई बाटो देखाउने गतिशील कानून बनाएका हौं’ प्रधानमन्त्री ओलीले भने।
उनले संविधान र कानूनले नागरिकता पाउनबाट बञ्चित देखिएको भए त्यो परिमार्जन गर्न सकिने बताए।
‘टर्चमा ब्याट्री सकियो भने ब्यार्ट्री फेर्नुस्, टर्च फेर्दा महँगो पर्छ’ उनले भने, ‘कानूनहरू आवश्यकताअनुसार संशोधन हुन्छ।’
कानून परिमार्जन गर्न सकिने भन्दै उनले कमा, फुलिस्टप फेर्दैन भन्यो भनेर सरकारविरुद्धमा प्रचार गरिएकोमा सत्यता नभएको दाबी गरे। ‘लहैलहै र बहकावका कुरा गरेर संविधान, कानूनमाथि बोलेको छैन’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले मधेशमा दाइजोजस्तो कुप्रथा कायमै रहेको पाइएको भन्दै अन्धविश्वास र कुरीति हटाउनुपर्नेमा जोड दिए।