सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कुनै कानूनी कारबाही गरिएको भए त्यसको सक्कल फाइलसहित प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
चन्दा असुली गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई गैरकानूनी रूपमा थुनामा राखेको भन्दै यसअघि पनि सर्वोच्चले उनलाई छोड्न आदेश दिएको थियो।
शुक्रबार न्यायाधीशहरू चोलेन्द्र शम्शेर जबरा र तेज बहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।
उक्त आदेशले रिहा भएका प्रकाण्डलाई प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो।
प्रहरीको पक्राउबाट बच्न विश्वकर्मा करिब पाँच घण्टा अदालतभित्र बसेका थिए।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले आफ्नो गाडीमा राखेर विश्वकर्मालाई निकाल्न प्रयास गर्दा प्रहरीले अवरोध गरेको थियो। अदालतको मूलगेटमा करिब एक घण्टाको रस्साकसी पछि अन्ततः विश्वकर्मा आफैं गाडीबाट ओर्लेर प्रहरीलाई पक्राउ गर्न दिएका थिए।
प्रहरीले प्रकाण्डलाई पुन: पक्राउ गरेपछि वीरेन्द्र विश्वकर्माले अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सोही रिटमाथि सोमबार पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले २४ घण्टामा अदालत उपस्थित गराउन आदेश गरेको हो।
विश्वकर्माविरूद्ध काभ्रेस्थित एक एनसेल टावरमा आगजनी गरेको र चन्दा असुली गरेको अभियोग रहेको प्रहरीले बताएको छ।