नेपालको संविधान-२०७२ जारी भएपछि मनाउन सुरू गरिएको संविधान दिवस बुधबार कर्णाली प्रदेश सरकारले पनि मनाएको छ। देशमा आएको गणतन्त्रात्मक संघीय व्यवस्थापछि तेस्रो पटकको संविधान दिवस प्रदेशहरूमा मनाइएको छ।
कर्णाली प्रदेश सरकार गठन भएपछि पहिलोपटक कर्णालीमै संविधान दिवस मनाइएको हो। संविधान दिवसका अवसरमा आयोजित र्यालीमा सहभागी भएर समारोहमा पुगेकी सुर्खेतकी तिर्सना हमालले दिवसको दिनलाई प्रमुख पर्वमध्येको एक पर्वका रुपमा आफूले मनन् गरेको बताइन्।
‘हाम्रो संविधान एक उत्कृष्ट संविधान हो, त्यस्तो कमजोरी भएको छ भनेर भन्न सकिँदैन,’ उनले भनिन्, ‘यसको कार्यान्वयन गर्ने सवालमा भने केही कमजोरी देखिन्छन्। कार्यान्वयनका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्छ।’ संविधानले जनताका लागि आवश्यक सबै कुरा मौलिक हकका रुपमा स्थापित गरिदिएको उनको धारणा छ।
संविधान जारी भएपछि संविधानमा उल्लेख भएको समावेशी, समानुपातिक प्रणाली लगायतका कुराले नेपालीहरूलाई अवसर प्रदान गरेको जाजरकोटका सीताराम खड्काको धारणा छ। तर, संविधानमा उल्लेख हक अधिकारको नागरिकहरुमा पूर्ण रुपमा प्रत्याभूत हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।
कर्णाली प्रदेशसभा सदस्य सुशील थापा नेपालको संविधानै विश्वमै एक गर्व गर्नलायक कानुन भएको बताउँछन्। नेपालमा जारी भएको संविधान देशवासी सबैको प्रतिनिधित्व गर्न सक्ने एक मात्र उत्कृष्ट संविधानका रुपमा मान्न सकिने उनको धारणा छ।
‘नेपालको संविधान–२०७२ इतिहासकै एक गर्व गर्न लायक संविधान हो, यसमा टिका टिप्पणी गर्नुपर्ने केही छैन,’ सांसद् थापाले भने, ‘देशका सबै जातजाति, भाषाभाषी, समुदायलगायतलाई एक ठाउँमा उभ्याएर समृद्धिको यात्रालाई अघि बढाउन सक्ने उत्कृष्ट संविधान हो।’
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सबै मिलेर संविधानको सार्थकता झल्काउनुपर्ने औंल्याए। संविधान दिवसका अवसरमा कर्णालीको राजधानी वीरेन्द्रनगरमा अयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उनले संविधान जारी भएपनि त्यसमा उल्लेख मौलिक हक, अधिकार सबै नागरिकले उपयोग गर्न नपाएकोले त्यसको कार्यान्वयन गरी संविधानको साथर्कता जनतामाझ झल्काउनुपर्ने बताए।