कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ। मंगलबार बिहान सम्पन्न मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिए।
त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ ।
योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको प्रवक्ता केसीले जानकारी दिए।
आयोगको उपाध्यक्ष मनोनयन भएका डा. पुण्य रेग्मी कृषि क्षेत्रका विज्ञ हुन्। भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्रध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडी गरेका हुन्।
उनले अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रुपमा समेत काम गरिसकेका छन्। कर्णाली प्रदेश सरकारको विज्ञ समूहको सदस्य समेत रहेका रेग्मी काउन्सिल फर ईन्टरनेशनल रिलेशन एण्ड ईकोनोमीक डेभ्लोप्मेण्टका अध्यक्ष हुन्।
आयोगको सदस्यमा मनोनयन भएका सर्केघाट ८, रादेउ हुम्ला निवासी दिपेन्द्र रोकायाले २५ वर्षदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका छन्।
ग्रामीण विकास र राजनीति शास्त्रमा स्नाकोत्तर रोकायाले नेपालको राजनैतिक द्धन्द्ध व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव शीर्षकमा पिएचडी गरेका हुन्।
युद्धपत्रकारिताको अनुभव समेत गरेका रोकाया श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत थिए।
योगेन्द्र बहादुर शाही जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एम फिल गरेका छन्।
उनी विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक रही काम गरी सकेकाछन्।
रोजा लक्जम्वर्ग फाउन्डेसन जर्मनीसँगको सहकार्यमा नेपाल अध्ययन केन्द्रका तर्फबाट नेपालको समसामयिक नीतिगत वहसका लागि संयोजक रही कार्य गरेका छन्।
लेखकले राष्ट्रिय र अन्तराष्ट्रिय दर्जनौ संघसंस्थाका सेमिनार र गोष्ठिका लागि युवा विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय तथा वातावरणीय दिगो विकास सम्बन्धी लेखन र प्रस्तुति दिइसकेका छन्।
उनका अंग्रेजी र नेपाली दुबै भाषामा सम्पादित, एकल लेखन र सहलेखन गरी अनुसन्धानमूलक र विचार प्रधान पुस्तकहरु प्रकाशित भएका छन्। शाही हिमालयन सिल्करोड कन्सल्ट्यान्सीका संस्थापक तथा कार्यकारी अध्यक्ष पनि रहेका छन्।
यसअघिको मन्त्रिपरिषद वैठकले प्रदेश योजना आयोग गठन तथा संचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरि आयोग गठनको वाटो खोलेको थियो।