नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले पार्टीको स्थायी समिति बैठकमा 'नेपाली कांग्रेसले सही दिशा ग्रहण गर्ने सम्भावना नरहेको' राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा निर्वाचनबाट खुम्चिएको कांग्रेसमा अन्यौलता व्याप्त रहेको उल्लेख छ।
'वैचारिक र राजनीतिक पुर्नसंरचनाको प्रसंग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने सम्भावना देखिँदैन', प्रतिवेदनमा भनिएको छ, 'आफ्नो असफलता ढाकछोप गर्न यस पार्टीमा यतिबेला सरकारविरूद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिकरण गर्ने प्रवृति देखा परेको छ।’
कांग्रेसले संसदीय इतिहासमै लामो समय सरकारको नेतृत्व गरेको र सोही अवधिमा मुलुकले दुर्गति व्योहोर्नु परेको यथार्थ ढाकछोप गर्न लागेको प्रतिवेदनमा उल्लेख छ।
दुर्गतिको ढाकछोपका लागि कतिपय नेताहरू सरकारविरूद्ध अधिनायकतावाद र सरकारको असफलताको ‘अनर्गल’ प्रचारमा उत्रिएको उल्लेख छ।
नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयको संयुक्त प्रतिवेदनको व्याख्या प्रचण्डले गरेका थिए।
प्रतिवेदनमा सत्तारुढ संघीय समाजवादी फोरमलाई भने तराई मधेशमा संलग्न दलमध्ये तुलनात्मक रूपमा उदार र सकारात्मक सोच राख्ने दलको रूपमा चित्रित गरिएको छ। साथै, मधेशको रुपान्तरणका लागि सहकार्य गर्नु आवश्यक रहेको उल्लेख छ।
नेकपाले प्रतिवेदनमा राजपा नेपाललाई दुविधाग्रस्त पार्टीका रूपमा अर्थ्याएको छ।
'यसका नेताहरूले संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्', प्रतिवेदनमा भनिएको छ, 'निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढिकरण एवं तराई मधेशको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई पनि सकारात्मक स्थानमा उभ्याउने नीति लिनुपर्दछ।’
नेकपाको बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्न लाग्दा नेकपाकै कतिपय नेताहरूले भने प्रश्न खडा गरेका थिए। स्थायी समितिले आफ्नो अजेण्डा आफैं तय गर्नुपर्नेमा माथिबाट प्रतिवेदन ल्याइएकोमा उनीहरूले प्रश्न उठाए।
स्रोतका अनुसार स्थायी समिति सदस्य घनश्याम भुषाल, योगेश भट्टराई, बेदुराम भुषाल, भीम रावलले प्रतिवेदन ल्याइएकोमा प्रश्न उठाएका थिए। जवाफमा प्रचण्डले - प्रतिवेदनमा नआएका विषयमा छलफल गरेर अगाडि जान सक्ने बताएका थिए। नेकपाको स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।