उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्धभत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन्।
उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन्।
उनले सरकारले सुरूआती कालमा वृद्धहरूका लागि १ लाखको स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको र अब मासिक पाँच हजार भत्ता दिने कामलाई सुरू गर्ने पनि स्पष्ट पारे।
उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यही फागुन १ गते विशेष कार्यक्रमबीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गर्न लागेको जानकारी पनि दिए।
आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणापत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दाबी गरे।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहोर्याए।
काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिब ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरी सोही घरबाट वडा कार्यालयको काम सुरू गरिएको हो।
बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरू गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सुरू गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ।