नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रतिपक्ष एक हुन आवश्यक रहेको बताएका छन्।
शान्ति प्रक्रिया, संविधान निर्माण, तीनै तहको सरकार बनाउने अवस्था सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर नै संभव भएको उल्लेख गरेका दाहालले समृद्धिको अभियानमा पनि सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताए।
‘देशमा राजनीतिक स्थायित्वसहित विकास र समृद्धिको अभियानमा सत्तापक्ष, प्रतिपक्ष मिलेर जानुपर्छ,’ भक्तपुरको हनुमन्ते नदी सफाइ अभियानको ५१ हप्ता पुगेको अवसरमा शनिबार भएको कार्यक्रममा दाहालले भने, ‘हनुमन्ते सफाइमा के सत्तापक्ष के प्रतिपक्ष सबै मिलेर काम गरिएको छ। समृद्ध देश बनाउन पनि सक्षापक्ष र प्रतिपक्ष मिल्नुपर्छ।’
नेपालमा के भइरहेको छ भन्नेबारे विदेशीले चासोपूर्वक नजिकबाट नियालिरहेको उनले बताए। ‘राजनीतिक परिवर्तनको एक चरण सकियो। अब विकास समृद्धिका लागि अघि बढ्नुपर्छ,’ उनले भने, ‘सगरमाथाको देश, बुद्धको देश भनेर मात्रै होइन आधुनिक लोकतान्त्रिक मुलुक भएकै कारण विदेशीले नेपाललाई नजिकबाट नियालेका छन्।’