गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा…’ बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको छ।
सोमबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्। सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिए।
उनले दुईतिहाइको सरकारविरूद्ध यस्तो गीत गाउनुको साटो मुखमा ताला लगाएर हिँड्नुपर्ने भन्दै व्यंग्य पनि गरे।
उनीभन्दा पछि बोलेका नेकपा सांसद झपट रावलले गायक शर्माले कांग्रेसको पक्षपोषण गर्न यो गीत गाएको दाबी गरे।
‘सुशील कोइरालाको सरकार हुँदा मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने गीत गाउने गायकले केपी ओलीको सरकार हुँदा लुट्न सके लुट कान्छा भन्ने गीत किन गाए?,’ रावलले भने, ‘त्यस्तो गीत गाउने गायकलाई कांग्रेस सांसदले २५ हजार पुरस्कार दिने घोषणाले यो गीत किन गाइयो भन्ने देखिन्न र!’
उनले गीत सरकारले युट्युबबाट हटाउन नलगाएको बताए।
‘यही गीत माननीयज्यूले गाउनुभयो भने म २५ हजार होइन एक महिनाको पुरै तलब दिन्छु,’ उनले भने।
प्रतिनिधि सभा सदस्यको मासिक तलब ५५ हजार २ सय ३० रूपैयाँ हुन्छ।
यसअघि गायक शर्माको ‘लुट्न सके लुट कान्छा…’ भन्ने बोलको गीतका शब्दका विषय विवाद भएको थियो।
राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गीत हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको थियो।
सामाजिक सञ्जालमा पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले विरोध सुन्न नसकेको भन्दै आलोचना भएको थियो।