शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतभित्र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गरिसक्ने गरी गृहकार्य गर्न विद्यार्थी संगठनलाई तयार रहन आग्रह गरेका छन्।
स्ववियु चुनाव फागुनभित्र गर्नुपर्ने भए पनि ढिलोमा चैतभित्र गर्नुपर्ने भन्दै मन्त्री पोखरेलले भने, 'स्ववियु चुनाव गर्न प्रधानमन्त्रीले पहल लिइसक्नुभयो। प्रतिपक्ष दल पनि सकारात्मक छ।'
सोमबार सांसदहरूले प्रतिनिधिसभा संसदमा राखेको जिज्ञासामा जवाफ दिएका शिक्षामन्त्री पोखरेलले स्ववियु चुनावको वातावरण तयार गर्न प्रधानमन्त्रीले प्रतिपक्षी दलका सभापतिसँग र विद्यार्थी संगठनका नेताहरूसँग पनि छलफल गरिसकेको बताए।
'चैतभित्रै स्ववियु चुनाव गरिसक्नुपर्छ, वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ,' उनले भने, 'शैक्षिक प्रणाली सुधार गर्न पनि चैतभित्रै स्ववियु चुनाव गर्नुपर्छ।' त्रिविले स्ववियु निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्न सोमबार समिति गठन गरे पनि मिति भने तय गरेको छैन।