नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला कमिटीहरूको नेतृत्व टुंग्याएको छ।
पार्टी एकतासँगै निष्क्रिय बनाइएका साविकका एमाले र माओवादीको कमिटीहरू एकीकरण गरिएका हुन्। आइतबार नै जिल्ला कमिटीको नेतृत्व टुंगो लागे पनि नेकपाले सोमबारसम्म सूची सार्वजनिक गरेको थिएन। नेकपाका अध्यक्षद्वयले सूची सचिवालयका सदस्यहरूलाई समेत दिएका थिएनन्।
सोमबार पनि अबेर प्रज्ञा भवनमा आयोजित कार्यक्रममामात्र सूची सचिवालय सदस्यहरूको हातमा थमाइएको हो।
प्रज्ञा भवनमा नेपाल कम्युनिस्ट पार्टीले ७० औं स्थापना दिवसको कार्यक्रम राखेको थियो। कार्यक्रमस्थलमा नेकपाका केन्द्रीय कार्यालयको समेत जिम्मेवारी सम्हाल्दै आएका कृष्णगोपाल श्रेष्ठले जिल्ला कमिटीका अध्यक्ष र सचिवको सूची सचिवालय सदस्यलाई वितरण गरेका थिए।
सूची पाएपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नाम हेर्दै विष्णु पौडेलसँग व्यक्तिहरूबारे जिज्ञासा राखेका थिए। त्यतिञ्जेल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाषण गर्न रोष्टममा पुगिसकेका थिए।
प्रचण्ड भाषण गर्न रोष्टममा पुगेलगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भने मञ्चबाट बाहिरिए। उनले न त छेउमा रहेका नारायणकाजी श्रेष्ठलाई कता जान लागेको खुलाए न त अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नै।
त्यसो त पार्टीमा तेस्रो वरियतामा नेता नेपाल छन्। तर मञ्चमा अध्यक्ष लगत्तैको सिटमा सोमबार झलनाथ खनालले कब्जा जमाए। नेता नेपाल ढिलागरी कार्यक्रम हलमा प्रवेश गरेका थिए। खनाल र नेपालबीच वरियतामा विवाद छ। खनालसँगैको सिटमा नारायणकाजी श्रेष्ठ बसेका थिए। नेता नेपालले सर्न भने पनि श्रेष्ठले झलनाथ तर्फको सिटमै इशासा गरे।
जिल्ला कमिटीको नेतृत्वको नामको सूची हात पारे लगत्तै नेता नेपाल बाहिरिए। कार्यकर्ताबीच नेता नेपालले कार्यक्रम बहिष्कार गरेको चर्चा भयो। त्यसमाथि कृष्ण गोपाल श्रेष्ठले पटक/पटक महासचिव र अध्यक्ष ओलीसँग कानेखुसी गरिरहे। माधव नेपाल मञ्चबाट हराएको विषयमा कार्यकर्तामा जिज्ञासा देखियो।
प्रचण्ड भाषण गरेर फर्किएपछि रोष्टममा बोल्न अध्यक्ष ओली गए।
ओलीको भाषण जारी रहँदा समेत माधव नेपाल कुर्सीमा नफर्किएपछि प्रचण्डले महासचिव विष्णु पौडेललाई डाके र सोधे - खोइ माधव कमरेड!
नेकपामा जिल्ला कमिटीको नामको नेतृत्व विवादका बीच टुंगोमा पुगेको छ। सचिवालय सदस्यहरूले समेत सूची पढ्न पाएका थिएनन्। सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्रीसँग सूची देखाउँदै जिज्ञासा राखेको दृश्य रोचक थियो। ओली भने मुस्कुराउँदै थिए।
नेकपाका स्थायी समिति र केन्द्रीय सदस्यहरू कार्यक्रम सकिँदासम्म कुन जिल्लामा कसले नेतृत्व पायो भन्ने अन्यौलताम थिए। त्यसमाथि महासचिव विष्णु पौडेलले कार्यक्रममा नाम घोषणासम्म समेत गरेनन्। उनले सिधै पत्रकारलाई वितरण उद्घोष गरिदिए। नेकपाका केन्द्रीय सदस्यहरू जिल्ला कमिटीको नेतृत्वको सूची पत्रकारहरूसँग मागिरहेका थिए।
माधव नेपाल भने कार्यक्रम स्थलबाट बाहिरिए साँखु पुगेका थिए। उनी असन्तुष्टिले बाहिरिएका हुन् वा कार्यक्रमकै कारणले भन्ने खुलेको छैन।