श्रीलंकाको कोलम्बोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुद्र आत्मघाती बम बिस्फोटबाट धन्न जोगिएको छ।
प्रहरीका अनुसार अन्तर्राष्ट्रिय आतंककारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्बोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट' सो होटल पनि थियो।
आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामग्री झोलाभरी बोकेर उक्त होटलमा पुगेको श्रीलंकाका अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।
ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजेको तर प्राविधिक समस्याले नपड्किएको प्रहरीले जनाएको छ।
त्यसपछि समुद्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए। त्यहीँ बम बिस्फोट भएर उनको मृत्यु भयो।
सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।
ताज समुद्रमा बम पड्केको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने थियो भनेर श्रीलंकन प्रहरीले जनाएको छ। समुद्री तटमा रहेको कोलम्बोको प्रख्यात 'ताज समुद्र’ प्रायः जसो विदेशी पाहुनाहरूले भरिभराउ हुने गर्छ।
'ताज समुद्र’ भारतको प्रसिद्ध 'ताज समूह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो।
अहिले चौधरी समूहले संसारभर कैयौं होटल र रिसोर्ट चेन सञ्चालन गरिरहेको छ।
श्रीलंकामा सम्भावित आत्मघाती आक्रमणकारी तीन महिला, तीन पुरुषको खोजी तीव्र
श्रीलंकाको राजधानी कोलम्बोमा हजारौं प्रहरी र गुप्तचर संस्थाका अधिकारीहरुले छ जना मानिसको खोजी तीब्र पारेका छन्।
न्यूयोर्क टाइम्सका अनुसार तीन महिला र तीन पुरुषको सो समूहले अहिले पनि राजधानी कोलम्वोमा आत्मघाती बम आक्रमण गर्ने प्रयास गरिरहेको प्रहरीले अनुमान गरेको छ।
गत आइतबार होटेल र चर्चहरुमा भएको आक्रमणपछि पनि आत्मघाती आक्रमणको खतरा नटरेको प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले जनाएका छन्।
श्रीलंकाको प्रहरीले सम्भावित आक्रमणकारीहरू अहिले चुपचाप लुकेर बसेको र मौका पाउनासाथ आक्रमण गर्नसक्ने भन्दै आममानिसलाई सतर्क गराएको छ। सम्भावित आक्रमणकारीको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ।
श्रीलंकाले अहिलेसम्म ७० भन्दा बढी शंकास्पद मानिसहरूलाई नियन्त्रणमा लिइसकिएको छ।
आतंककारी समूह इस्लामिक स्टेटले जिम्मा लिएको यो आक्रमणको अनुसन्धान गर्न र थप आक्रमण हुनबाट जोगाउन श्रीलंकालाई अमेरिकाको गुप्तचर संस्था एफबिआई, बेलयातको ऐमआई-१६का साथै भारत, अष्ट्रेलिया, स्विट्जरल्याण्डका संस्थाहरूले पनि सघाइरहेका छन्।
आइतबारको आक्रमणमा परी मर्नेको संख्या भने सरकारले पहिले भनिए भन्दा झण्डै १०० जना कम भएको जनाएको छ। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बम आक्रमणमा मर्नेको संख्या २५३ जना मात्र रहेको जनाएको छ। पहिले यो संख्या ३५९ पुगेको श्रीलंकन अधिकारीहरूले जनाएका थिए।
बम आक्रमणमा पर्नेहरूको शव क्षतविक्षत भएकाले संख्या सुरूमा यकिन गर्न नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसरी एक चर्चमा छिरेर बम बिस्फोट गराउन प्रवेश गर्दै गरेका एक बम आक्रमणकारी सिसिटिभीमा कैद भएका थिए।
हेर्नुस् भिडियोः