राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमी पर्वबाट सामाजिक सांस्कृतिक तथा राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने बताएकी छन्।
जानकी नवमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा आयोजित सम्मान तथा सम्बोधन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले जानकी नवमी पर्व सम्पूर्ण नेपालीहरूको लागि राष्ट्रिय एकतामा बाँध्ने पर्वको रूपमा रहेको बताइन्।
प्राचिन मिथिलाको इतिहासलाई हेर्ने हो भने मिथिलाको भूमि शिक्षा तथा समानतामा अग्रसर थियो तर वर्तमान समयमा देखिएको असमानता तथा विकृतिहरू दुःखको विषय रहेको राष्ट्रपति भण्डारीले बताइन्।
उनले यसलाई चिर्नका लागि प्रदेश दुईको सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई खुलेर प्रशंसा गरिन्।
राष्ट्रपति भण्डारीले मिथिला सभ्यताको संरक्षण एवं संवर्द्धनका लागि सम्पूर्ण मिथिलावासीलाई आह्वान गरिन्।
कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिए पनि प्रदेश सरकारले यसलाई प्रादेशिक पर्वको मान्यता दिइसकेको जानकारी दिए।