नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले सदनमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकले शाही शासनको झल्को दिएको बताएका छन्।
नेपाल शिक्षक संघ चितवनको ३० औं स्थापना दिवसमा सोमबार चितवनमा आयोजित कार्यक्रममा पौडेलले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी सरकारले मिडिया विधेयक ल्याएको आरोप लगाए।
‘संविधानको मर्म र भावनाविपरीत मिडियालाई अंकुश लगाउन सरकारले विधेयक ल्याएको छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाहले पनि मिडियामाथि प्रतिबन्ध लगाएका थिए। विधेयकले शाही शासनको झल्को ल्यायो।’
कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै पौडेलले मानव अधिकार आयोगलाई पनि सरकारले महान्यायाधीवक्ताको कार्यालय मातहत राख्न खोजेको बताए।
‘मानव अधिकार आयोगलाई महान्यायाधीवक्ताको कार्यालय मातहत राख्न खोज्नु सरकारको निरंकुशतावादी सोच हो,’ उनले भने।
उनले राष्ट्रपतिलाई कुनै खतरा नभएको भन्दै सवारीका बेला ट्राफिक जाम गरेर जनतालाई दु:ख दिन छाड्नुपर्ने बताए।
साथै शिक्षकहरूलाई राज्यले उपयुक्त सेवा, सुविधा दिन नसकेको उनको भनाइ छ।