प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सदन अवरूद्ध हुनुमा सरकारबाटै गल्ती भएको स्वीकार गरेका छन्।
सदनमा प्रदेशसभा सदस्यहरूले सरकारले नै सदन अवरोध हटाउनका लागि तत्काल पहल गर्न नसकेकोमा आलोचना गरेपछि मुख्यमन्त्री राउतले सरकारबाटै गल्ती भएको स्वीकार गरेका हुन्।
प्रदेशसभामा मुख्यमन्त्री राउतले सरकारले आफ्ना गल्तीहरू सच्याउँदै अगाडि बढ्ने प्रतिवद्धता जनाएपछि सदन सुचारु भएको जानकारी दिए।
मुख्यमन्त्री राउतले जनता आवास कार्यक्रम, बीपी उद्यान लगायतको विषयमा सरकारबाटै चुक भएको आत्मसाथ गर्दै त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेशसभा सदस्य मनिष कुमार सुमनले प्रदेश प्रहरी ऐन तथा करारमा कर्मचारी भर्नासम्बन्धी ऐन कहाँ गयो? सोधेको प्रश्नमा मुख्यमन्त्री राउतले प्रदेशमा लोक सेवा आयोग गठन नभएसम्म यी ऐनहरू अपुरो रहेको बताए।
उनले यी ऐनहरूलाई चाँडै कार्यान्वयनमा ल्याउन लोकसेवा आयोग लगायतका विधेयकहरुलाई चाँडै सदनबाट पास गराउन आह्वान समेत गरे ।
सदनमा बजेट फ्रिज हुने अवस्थाप्रति चिन्तित हुँदै मुख्यमन्त्री राउतले कर्मचारी अभाव प्रदेश सरकारका लागि ठूलो समस्या रहेको बताए । कर्मचारी अभाव सम्बन्धमा पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई जानकारी गराए पनि समस्या समाधान हुन नसकेकोमा दुःख व्यक्त गरे।
उनले भने,‘संघ सरकारले भन्छ कर्मचारी पठाइदिएको छु, तर अहिलेसम्म हामीले उनीहरूको मुखसम्म हेर्न सकेका छैनौं।’
सदनमा सरकारले प्रदेशको नामाकरण र राजधानीको सम्बन्धमा विधेयक चाँडै ल्याउन लागेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले यसमा प्रदेशसभा सदस्यहरूलाई बृहत छलफल गर्न आह्वान गरे।
प्रतिपक्षी दलको तुलना कांग्रेस सभापति देउवासँग
प्रदेशसभा सदस्य मनिष कुमार सुमनले प्रदेश दुईको प्रतिपक्षी दलहरूको तुलना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेका छन्।
प्रदेशसभामा मंगलबार आक्रामक रूपमा प्रस्तुत भएका प्रदेशसभा सदस्य सुमनले जसरी आफ्नो लोभका कारण नेपाली कांग्रेसका सभापति देउवा चुप लागेर बस्छन् त्यस्तै चरित्र यहाँको प्रतिपक्षी दलहरूको रहेको आरोप लगाए।
उनले भने,‘देउवाजी वाइड बडी प्रकरण, बालुवाटार प्रकरण, सुन काण्डमा जसरी चुप लागेर बसेका छन् त्यसरी नै यहाँका प्रतिपक्षी दलहरूलाई केही करोड रकम बाँडेपछि सदन अवरूद्ध गर्ने कारण बिर्सेर अगाडि बढेका छन्।’
सुमनले प्रतिपक्षी दलहरूले जनता आवास कार्यक्रममा सबै निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यहरूको प्रतिनिधित्व, बीपी उद्यानमा शहीद स्मारकको कार्य रोक्न जस्ता मागहरू आज निर्वाचन क्षेत्रमा एक करोड बाँडिएपछि सबै माग विपक्षी दल बिर्सेको आरोप लगाए।
सुमनको आरोपलाई खण्डन गर्दै नेपाली कांग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादवले सरकारले हाम्रो मागसामु घुँडा टेकेर सहमति गरेपछि मात्रै सदन सुचारु भएको बताए।
उनले प्रदेश सरकारले बजेट रकमान्तर गरेर जथाभावी दुरुपयोग गरिरहेकोमा त्यसलाई रोक्न माग समेत गरे।