नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६३ औं बुद्ध जयन्तीको शुभकामना दिँदै बुद्धका उपदेश पालना गरेर देशमा शान्ति कायम गर्नुपर्ने बताएका छन्।
अन्याय, अत्याचार र दमनबाट देशवासीले मुक्ति पाउने अपेक्षा राख्दै देउवाले संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको बताएका हुन्। शनिबार प्रेस विज्ञप्ति जारी गरेर देउवाले भनेका छन्- ‘म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु।’
उनले नेपाली जनताको चाहना शान्ति र आर्थिक विकास रहेको उल्लेख गरेका छन्।
‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो। विगतका वर्ष अशान्ति र द्वन्दबाट आक्रान्त रहेको देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधीलगायतका घट्नाबाट मुक्त हुन सकेको छैन।’
शान्त र समुन्नत नेपाल निर्माणका लागि थुप्रै अवसरहरु रहेको देउवाको भनाइ छ। ‘हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ,’ उनले भनेका छन्, ‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं।’
साथै देउवाले अशान्ति, हत्या र हिंसाको विरोध गर्नुपर्ने बताएका छन्।