लोकसभा सिटको आधारमा भारतको निर्वाचनमा प्रभावित पार्ने पाँच राज्य मध्ये एक हो - तमिलनाडू। तमिलनाडूमा लोकसभाको ३९ सिट छ।
भारतमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले सन् २०१४ को चुनावमा तमिलनाडूमा मात्र एक सिट जित्न सफल भएको थियो। तर यसपटक तमिलनाडूमा सिट बढाउन भाजपाले गठबन्धन गरेको छ। उसले तीन क्षेत्रीय पार्टीहरू गठबन्धन गरेको छ। अर्कोतर्फ भारतीय कांग्रेसले पनि त्यहाँ चार वटा क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको छ। राष्ट्रिय पार्टीका रूपमा रहेका भाजपा र कांग्रेस दुबै तमिलमा प्रभावहीन छन्।
तमिलका प्रभावशाली पार्टी एआईएडीएमकेले भाजपासँग गठबन्धन बनाएको छ भने कांग्रेले डिएमकेसँग गठबन्धन गरेको छ। तमिलनाडूको राजनीतिमा सधैँ क्षेत्रीय पार्टीको वर्चश्व रहँदै आएको छ। यसपटक तमिलनाडूमा फिल्म स्टार कमल हसनको पार्टीसमेत निर्वाचनको प्रतिष्पर्धामा छ। त्यस्तै अर्को एउटा पार्टी एआईएडिएमकेबाट फुटेर बनेको एएमएमके पार्टी प्रतिष्पर्धामा छ। यो पार्टीले सबै निर्वाचन क्षेत्रमा उम्मेद्वार खडा गरेको छ।
तमिलनाडूको चुनावमा प्रभाव राख्ने जयललिताको निधनपछि त्यहाँ सत्ताविरोधी माहौल छ। सत्तारूढ भारतीय जनता पार्टी खासै लोकप्रिय छैन। यस्तोमा यसपटक कांग्रेसलाई तमिलनाडूमा फाइदा मिल्न सक्छ।
यसपटक तमिलनाडूको ३९ मध्ये ३८ सिटमा मात्र निर्वाचन भएको छ। वेल्लोरको निर्वाचन रद्द भएको छ। इण्डिया टुडे ग्रुपले गरेको मत सर्वेक्षणमा ३८ मध्ये ३४ सिटमा कांग्रेस गठबन्धनले बाजी मार्ने देखिन्छ। बिजेपी गठबन्धनले बाँकी चार सिट जित्ने सर्वेक्षणले देखाएको छ।
न्युज अइटिनले गरेको सर्वेक्षणमा भने ३८ मध्ये २२ देखि २४ सिटमा मात्र कांग्रेस गठबन्धनले जित्ने देखाइएको छ। बाँकी १४ देखि १६ सिटमा भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले जित हात पार्ने दावी गरिएको छ। गठबन्धनमा भाजपाका उम्मेद्वारले बढीमा दुई सिट र कांग्रेसका उम्मेद्वारले बढीमा ५ सिट जित्ने सर्वेक्षणले देखाएको छ।
त्यस्तै चानक्य न्यूज ट्वान्टीफोरले बिजेपी गठबन्धनले ६ सिट कांग्रेस गठबन्धनले ३१ सिट जित्ने अनुमान लगाएको छ। अन्य दलले एक सिट जित्न सक्ने आंकलन उक्त टेलिभिजनले गरेको छ।
रिपब्लिक सि भोटर मत सर्वेक्षणले कांग्रेस गठबन्धनले २७ सिट र भारतीय जनता पार्टीको गठबन्धनले ११ सिट जित्ने दावी गरेको छ। टाइम्स नावले कांग्रेस गठबन्धनले २९ सिट र ९ सिट भारतीय जनता पार्टीको गठबन्धनले जित्ने दावी गरेको छ।
चुनावमा प्रभाव पार्ने दुई व्यक्तित्व एम करुणानिधी र जयललिताको निधनले यसपटक तमिलनाडूको चुनावले समेत कम चर्चा पायो। दुई दशक तमिलनाडूमा मुख्यमन्त्री भएका करुणानिधिको सन् २०१८ मा निधन भएको थियो। त्यस्तै चौध बर्ष मुख्यमन्त्री भएकी जलललिताको सन् २०१६ मा निधन भएको थियो।
सन् २०१७ मा आएको आँधीमा तमिलनाडूमा मछुवारहरुको व्यापक जनधन क्षति भएको थियो। उक्त क्षतिको भर्पाइमा केन्द्र सरकारले सहयोग नगरेको आरोप स्थानीयले लगाउने गरेका छन्। त्यसैले तमिलमा भाजपा विरोधी लहर छ। कांग्रेसलाई भने तमिलको अल्पसंख्यकको समर्थन छ। कमल हसनको पार्टीले पनि त्यहाँका युवालाई आकर्षित गरेको छ। उसले पनि एक सिटसम्म जित्ने सक्ने अनुमानहरु सार्वजनिक भएको छ।