प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै प्रदेश २ का पत्रकारहरूले प्रदेशसभा अगाडि धर्ना दिएका छन् ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरे पनि प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने गरी विधेयक ल्याएको भन्दै प्रदेश २ का पत्रकारहरूले नाराबाजी गर्दै धर्ना दिएका हुन् ।
सोमबार धर्नाका लागि पुगेका पत्रकारहरूले प्रदेश सञ्चार विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैनजस्ता नारा लगाएका थिए ।
धर्ना पछि बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले सरकारलाई प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग गरे ।
उनले विधेयक फिर्ता नलिए अझै कडा आन्दोलन गर्ने चेतावनी दिए ।
यस अघि पत्रकारहरूले सभामुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरूलाई ज्ञापनपत्र समेत बुझाएका थिए।
पत्रकारहरूको टोलीले सभामुख सरोज कुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपाका प्रमुख सचेतक परमेश्वर साह र संघीय समाजवादी फोरमका सचेतक शैलेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएर विधेयक फिर्ता गराउनका लागि दबाब दिन आग्रह गरेका थिए।
जवाफमा नेताहरूले प्रदेशसभामा विधेयक टेबल भइसकेकाले यसमा व्यापक संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।