गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रूपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही हुने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उनले उक्त घटना प्रारम्भिक रूपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गरे।
उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न उनले स्थानीयवासी, सांसद, राजनीतिक दल तथा सरोकार भएका सबैलाई आग्रह गरे।
गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन सुरू गरेको बताउँदै केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरे।
घटनामा नौ जनाको हत्या भएको र अर्का एकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो। घटनामा बाँच्न सफल १३ वर्षीय बालिका सीता खजुमको दमकमा उपचार भइरहेको छ।
भविष्यमा यस्ता घट्न नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताए।
गृहमन्त्रीको भनाइलगत्तै सांसदहरू अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजंग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह गरे।