प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ दिनदेखि अनसनरत नर्सका माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ।
विभिन्न माग राखेर वैशाख २७ गतेदेखि अनसन बसेकी नर्स जिता बरालको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रदै गएको भन्दै कांग्रेसले नर्सले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्ति जारी गरेर सरकारबाट नर्सले उठाएका माग सम्बोधन नहुनु दु:खद भएको उल्लेख गरेका छन्।
‘सरकारी र अनसनरत पक्षबीच छिटो वार्ता गरी संवादको माध्यमबाट पेशागत हकहित र अधिकार सम्बन्धित सबै जायज माग पूरा गर्न सरकारसमक्ष माग गर्दछौं,’ सचेतक खाँणले भनेका छन्।
अव्यवस्थित नर्सिङ सेवालाई सरकारले विश्व स्वास्थ्य संगठनको नीतिअनुसार हेर्नुपर्ने, नर्स शिक्षामाथिको विभेद हटाएर अरु जनशक्ति सरह सुविधा र तालिम दिनुपर्ने, चरम आर्थिक शोषण अन्त्य गरिनुपर्ने, नर्सलाई उचित व्यवस्थापन गरिनुपर्ने र सम्मानजनक सेवा सुविधाको वातावरण हुनुपर्नेलगायत माग राखेर नर्स अनसनमा छन्।
नेपालमा ८५ हजारभन्दा बढी नर्स छन्।