सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय अभ्यास मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादाविपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराए।
बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने स्पष्ट पारे।
वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरूले त झन् त्यसको पालना गर्नेपर्ने उल्लेख गरे।
सत्तारूढ नेकपाकै अर्का नेता भीम रावलले कूटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रूपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए।
उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अनुमति नरहेको दाबी गरे।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिबिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रूपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे।
उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सचेत गराए।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिइ राजदूत बेरीलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको स्पष्ट पारे।
उनले कूटनीतिक मर्यादाको सीमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्न पनि नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको ध्यानाकर्षण गराए।
अमेरिकी राजदूत बेरीले आगामी सोमबारदेखि सुरू गर्न लागेको ‘राजदुतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उनकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो।
सांसद कर्णले कुनै पनि बहानामा कूटनीतिक मर्यादाको उल्लंघन गर्ने काम राजदूतहरूले गर्न नहुने स्पष्ट पारे।
यो पनि :
अमेरिकी राजदूतको गफगाफ विवादमा