नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया तत्काल नटुंगिने भएको छ। नेकपामा पोलिटब्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनको काम बाँकी छ।
नेकपाभित्र पूर्वमाओवादी केन्द्रले पाएका ६६ पोलिटब्युरो सदस्यको नाम टुंग्याउन नसक्दा एकता प्रक्रिया लम्बिएको थियो। पूर्वमाओवादीतर्फको ६६ जनाको सूचीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना धेरै मान्छे राखेको भन्दै सो विवाद बढेको छ। पार्टी अध्यक्ष प्रचण्ड पनि बादलले धेरै भाग खोजेपछि असन्तुष्ट छन्।
अहिले सरकारलाई बजेटको चटारो परेकाले एकता प्रक्रिया झनै लम्बिने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरू बजेट निर्माणमा केन्द्रीत भएका छन्।
‘गत वर्षको बजेट निर्माणमा पार्टी नेताहरूबीच नै छलफल नभएपछि सरकारको आलोचना भयो,’ नेकपाका एक नेताले भने, ‘यसपटक प्रधानमन्त्रीले बजेट निर्माणमा छलफल गरिरहनु भएको छ।’
संविधान अनुसार जेठ १५ गते प्रतिनिधि सभामा बजेट प्रस्तुत हुँदैछ। बजेट एउटा कारण भए पनि मुख्यत: पोलिटब्युरोको गठनको ‘लफडा’ कारण एकता ढिलाइ भएको ती नेताले बताए।
‘पोलिटब्युरो सदस्यको नाम सार्वजनिक गर्न टाइप गरेर तयार पारिएको थियो,’ एक सचिवालय सदस्यले भने, ‘सूची हेरेपछि नारायणकाजी श्रेष्ठले असहमति जनाउनुभयो।’
नारायणकाजीको असहमति बाहिर देखिए पनि नेकपाका अध्यक्ष प्रचण्डसमेत पोलिटब्युरो गठनमा सचिवालय सदस्य बादलले आफूखुसी गरेकोमा असन्तुष्ट छन्।
‘बादलले कार्यदलमा बसेर आफ्ना मान्छे बढी घुसाएको भनेर अन्य नेताहरूले प्रचण्डलाई घेर्नुभयो,’ एक नेताले भने, ‘पोलिटब्युरोमा बादलले १५ सदस्य आफ्नो पक्षका राख्नुभएछ।’
साविकको एमाले र माओवादीले १ सय ४७ सदस्यीय पोलिटब्युरोमा ८१ र ६६ को भागबन्डा गरेका छन्।
‘माओवादीको भागमा परेको ६ जनसंगठनमध्ये ४ जना बादलका मान्छे छन्,’ नेकपाका ती नेताले भने, ‘अहिले पूर्वमाओवादीभित्रको समस्याले पोलिटब्युरो गठनमा ढिलाई भैरहेको छ।’
स्रोतका अनुसार बादलका कारण प्रचण्डले पोलिटब्युरो समेत गठन नगर्न प्रस्ताव सचिवालयमा राखेका छन्। उनी केन्द्रीय समितिको कार्यविभाजन टुङ्ग्याएर एकता अगाडि बढाउन चाहन्छन्।
‘तर यो उल्टो बाटो हुन्छ भनेर नेताहरुले भन्नुभएको छ,’ ती नेताले भने, ‘पोलिटब्युरो टुङ्ग्याउने विषयमा छलफल जारी छ।’
एउटै जिल्लामा धेरै केन्द्रीय सदस्य भएकाले कार्यविभाजन तोकेर अगाडि नजाने पक्षमा साविकका एमालेका नेताहरू छन्।
‘प्रचण्डले गाँठो नफुकाएसम्म पोलिटब्युरो अगाडि बढ्ने देखिन्न,’ ती सचिवालय सदस्यले भने, ‘साविकको एमालेभित्र पनि केही नामको विषयमा विवाद छ। तर त्यो मिल्ने आधा घण्टाको छलफलमा मिल्ने अवस्थामा छ।’
बादलले पूर्वमाओवादीको समूह छाडी प्रधानमन्त्री केपी ओलीसँग नजिक भएको गाइँगुइँसँगै प्रचण्ड उनीप्रति शशंकित भएको पार्टीभित्रै चर्चा छ। कतिपयले नेकपाभित्र नयाँ समिकरणहरू बनिरहेको टिप्पणी गरेका छन्।