भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भइन्। इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन्।
उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट सम्बन्ध भएका भाजपा नेता सुरेन्द्र सिंहलाई शनिबार गोली हानिएको थियो। गोली लागेर घाइते भएका सिंहलाई उपचारका लागि लखनऊ लगे पनि उनी बाँच्न सकेनन्। सिंह अमेठीको बाराउलिया गाउँका पूर्वप्रमुख थिए।
उनको हत्या पारिवारिक कारणले भएको हो कि त्यसका पछि कुनै राजनीतिक कारण छ भन्नेबारेमा खुलिनसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न केहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
अमेठी त्यही क्षेत्र हो, जहाँबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए। २००४ पछि राहुल त्यहाँबाट सांसद बनिरहेका छन्। अमेठीमा सन् १९७५को संकटकाल लगाएपछि भएको १९७७ मा चुनावमा इन्दिरा गान्धी पनि पराजित भएकी थिइन्।