राहदानी विधेयक राष्ट्रपतिबाट फिर्ता भएको विषयलाई लिएर सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सभाको भूमिकामाथि
प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाले विधेयक पठाएको सात महिनासम्म राष्ट्रिय सभाले किन पारित गरेन भन्दै महराले प्रश्न गरेका हुन्।
राष्ट्रिय सभाले विधेयक पारित नगरेपछि प्रतिनिधि सभाले राहदानी ऐनको संशोधन विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। उक्त विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएकी छिन्।
सभामुख महराले राष्ट्रिय सभाका सांसदहरूसँग विधेयकमा भएको ढिलाइबारे छलफलसमेत गरेका छन्।
सांसदहरूसँग महराले प्रतिनिधि सभाबाट २०७५ साल असोज १० गते पठाइएको विधेयक फिर्ताको पत्र २०७६ साल वैशाख १७ गतेमात्र किन पठाइयो भन्दै प्रश्न गरेका हुन्।
उनले राष्ट्रिय सभाका तर्फबाट सचिव राजेन्द्र फुयाँलले पठाएको पत्रको व्यहोरामा समेत प्रश्न गरेका छन्। राष्ट्रिय सभाले प्रतिनिधि सभामा पठाएको ‘विधेयकमा कुनै कारवाही हुन नसकेको’ उल्लेख गरिएकोमा महराले आपत्ती जनाएका हुन्।
‘विधेयकमा छलफल पछि संशोधन भएर २०७५ फागुन ६ गते विधायन व्यवस्थापन समितिले राष्ट्रिय सभामा पेश गरेको छ,’ महराले भने, ‘के त्यसले कुनै कारवाही नभएको अर्थ लाग्छ।’
महराले तेश्रो अधिवेशनको ९० दिनको समय राष्ट्रिय सभाका लागि छलफल गरी पारितका लागि समय रहेको अवस्थामा समेत अगाडि नबढाइएकोमा समेत सांसदहरूसँगको भेटमा चासो देखाएका छन्।
‘समितिमा फागुन ६ गते पेश भएको छ। चैत १० गतेसम्म अधिवेशन चलेको छ, विधेयक किन पारित गरिएन,’ महराले प्रश्न उठाएका छन्।
महराले विधेयक पठाएपछि राष्ट्रिय सभा ७ महिना ७ दिन चलेको। जसमध्ये चार महिनाको अवधि राष्ट्रियसभा नचलेको भएपनि ३ महिना बैठक चलेको अवधिको हिसाब मागेका छन्।
प्रतिनिधि सभामा राष्ट्रपतिबाट विधेयक फिर्ता आएपछि महराले आफ्नो सचिवालयलाई समयको हिसाब किताब समेत गर्न लगाएका छन्। सचिवालय मार्फत् महराले सञ्चार माध्यमहरुलाई पठाएको प्रेस नोटमा ‘राष्ट्रिय सभामा विधेयक पारित गर्न पर्याप्त समय भएको,’ उल्लेख गरेका छन्।
संविधानको धारा १११ मा प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाले दुई महिना भित्र पारित गरेर पठाउनुपर्ने व्यवस्था छ।
‘राष्ट्रिय सभाले छलफल भएको तर कुरा मिलेन भनेको भए हुन्थ्यो,’ महरा भन्छन्, ‘विधेयक सम्बन्धमा कुनै कारबाही हुन नसकेको भन्नु हुन्नथ्यो।’
महराले विधेयक फिर्ता हुनुमा प्रतिनिधि सभाको दोष नरहेको बताएका छन्।
‘प्रतिनिधि सभाको दोष छैन,’ महराले भनेका छन्।