सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानको भावनाविपरीत बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्वारा निर्देशित भएरै बजेट आएको प्रष्टयाएका हुन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठीक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चुनौती दिए।
लोक कल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नुपर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ।
महासचिव पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिब र पिछडिएका क्षेत्रको पक्षमा दृढतापूर्वक उभिएको दाबी गरे।
उनले बजेटले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर मुलुकको उच्च आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको बताए। महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दाबी गरे। बजेटले ऊर्जा क्षेत्रको विकासमा विशेष जोड दिएको उनको दाबी छ।
महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको बताए।