अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि बेलायत आइपुगेका छन्। पत्नी मेलानियासँगै उनी सोमबार बेलायत आएका हुन्।
बेलायत भ्रमणका क्रममा ट्रम्पले महारानी एलिजावेथसहित राजपरिवारका अन्य सदस्यहरूसँग भेटवार्ता गर्नेछन्।
राजीनामा घोषणा गरिसकेकी प्रधानमन्त्री थेरेसा मेसँगको भेटवार्तामा ट्रम्पले जलवायु परिवर्तन र चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावेबारे छलफल गर्ने बीबीसीले उल्लेख गरेको छ।
राष्ट्रिय सुरक्षामा खतरा पुर्याउन सक्ने भन्दै ट्रम्प प्रशासनले हुवावेलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ। फाइभजी नेटवर्क विस्तारमा लागेको हुवावेसँग सम्झौता नगर्न अमेरिकाले आफ्ना सहयोगी देशहरूसँग अनुरोध गरिरहेको छ।
बेलायतले यसअघि हुवावेलाई फाइभजी विस्तारको जिम्मा दिने तयारी गरेको थियो। अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि बेलायतले फाइभजी विस्तारको प्रस्तावमा पुनरावलोकन गरिरहेको छ।