आठ महिनादेखि विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन व्यापार युद्धमा छन्। अघिल्लो महिना वासिङट्नमा भएको ११ औं चरणको वार्ता असफल भएपछि व्यापार युद्ध कसरी अगाडि बढ्छ भन्ने आमचासो छ किनकी यी दुई राष्ट्रले एकअर्कासँग कसरी व्यापार गर्छन् भन्नेले विश्व अर्थव्यवस्थामा असर पार्छ।
वार्ता रोकिएर अमेरिकाले थप २ सय अर्बका चिनियाँमा सामान २५ प्रतिशत कर लगाएपछि चीनले व्यापार युद्धबारे श्वेतपत्र जारी गरेको छ।
दुई दिनअघि जारी गरेको उक्त श्वेतपत्रमा बेइजिङले आफू वार्ताका माध्यमबाट सबै समस्याको समाधान गर्न तयार रहेको बताएको छ। तर दुईपक्षीय सहमति पारस्परिक समानता र विश्वव्यापी मान्यताअनुसार हुनु पर्ने उसको अडान छ। सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने तर द्वन्द्व गरे दुई मुलुकसहित बाँकी विश्वलाई पनि असर पर्ने चीनको भनाइ छ।
‘पहिला अमेरिका’ भन्ने नारा लिएर सत्तामा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार युद्धमार्फत् विश्व अर्थव्यवस्थालाई ध्वस्त पार्न लागेको पनि चिनियाँ आरोप छ।
श्वेतपत्रमा चिनियाँ सामानमा कर लगाउँदा अमेरिकी अर्थतन्त्र उभो नलाग्ने पनि दाबी बेइजिङले गरेको छ। यसले एकातिर चिनियाँ सामानका लागि अमेरिकी उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने र अर्कातिर चीन पठाउन विभिन्न खेती गर्ने अमेरिकी किसानले फाइदा गर्न नसक्ने भएकाले ट्रम्पले दाबी गरेजस्तो अर्थ व्यवस्थामा सुधार नहुने श्वेतपत्रमा उल्लेख छ।
व्यापार वार्ताका क्रममा चीनले वौद्धिक सम्पत्तिको संरक्षणलाई गम्भीरतापूर्वक नलिएकाले त्यसको लागू गर्ने संयन्त्र आफैंले बनाउने अमेरिकाले प्रस्ताव गरेको थियो। तर बेइजिङले चिनियाँहरू परापूर्वकालदेखि सिर्जनशील भएको उल्लेख गर्दै वौद्धिक सम्पत्तिको संरक्षण आफ्ना लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गरेको छ।