नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई जवाफ फर्काएका छन्।
प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट छलफलमा धारणा राख्ने क्रममा पौडेलले वृद्धभत्ता बढेको बेठिक हो भनेर औपचारिक ढंगले भन्ने आँट गर्न चुनौती दिएका थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा गगनले पौडेललाई 'मेरो हिम्मत छ' भन्दै जवाफ फर्काएका हुन्।
'एक जना बलवान् सांसदले जसले बालुवाटारको जग नै हल्लाइदिन सक्नुहुन्छ उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो। वृद्धभत्ताबारे बोल्ने हिम्मत छ', थापाले जवाफ फर्काउँदै भने, 'मेरो हिम्मत छ।’
उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे।
'पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन। कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ म', थापाले भने, 'सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन्। एकीकरण गर्ने, र्यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने। सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनिय छैन?’
उनले आफू काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद भए पनि काठमाडौंसँग सम्बन्धित योजनाहरूमा जोडिन सक्ने अवस्था बजेटले नबनाएको बताए।
'म प्रत्यक्ष निर्वाचित सांसद हुँ। विकासको मागसँग जोडिनुपर्छ भन्ने मलाई पनि थाहा छ। म पनि जोडिन चाहन्छु', थापाले भने, 'बजेटमा मेलम्ची आयोजना, सुरुङ मार्ग निर्माण गरेर राजधानी जोड्ने, अतिक्रमित जग्गाको कुरा, हरित सहरीकरण, साइकल सिटीको कुरा छ। यो मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित छ। म यसमा जोडिन चाहन्छु। तर कसरी जोडिने भनेर प्रश्न राख्छु, उत्तर आउँदैन। संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन।'
थापाले थप्दै भने, 'सरकार मलाई यी सबैसँग अलग राख्छ र भन्छ - माननीयज्यू तपाईंले ६ करोड प्राप्त गर्नु भएको छ। जानुस् निर्वाचन क्षेत्रमा, मन्दिरको पर्खाल बनाउनुहोस्। सामुदायिक भवन बनाउनुहोस्। किरियापुत्रीको भवन बनाउनुहोस्। जनतासँग जोडिनुस्। हामी निर्वाचन क्षेत्रका जनतासँग जोडिन ६ करोडको होइन, ६ अर्बको, ६ खर्बको हाम्रो ठाउँसग जोडिएको नीतिसँग जोडिन चाहन्छौं। योजनासँग जोडिन चाहन्छौं।’
उनले नेकपाको सिद्धान्त नभएकै कारण बजेट त्यस्तै आएको बताए।
उनले विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको बताए।
'बजेटबारे अर्थमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु, सांसद भएर खुसी हौं कि नागरिक भएर दुखी हौं अलमलमा परेको छ', थापाले भने।
यो पनि :
विष्णु पौडेलको कांग्रेसलाई चुनौती : सामाजिक सुरक्षा भत्ता बढाउनु बेठीक हो भने भन