सिन्धुपाल्चोक प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
इन्द्रावती गाउँपालिका-२, कुञ्चोकका पूर्ण मल्ल ठकुरीलाई प्रहरीले चौतारा बजारबाट नियन्त्रणमा लिएको हो।
चन्द नेतृत्व नेकपाका सिन्धुपाल्चोक जिल्ला सदस्य रहेका मल्ललाई विशेष सुराकीको आधारमा चौतारा बजारमा हिँडिरहेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिएको हो।
उनको साथबाट पार्टीको नामको चन्दा रसिद र केही दस्ताबेज समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।
‘हामी थप अनुसन्धान गरीरहेका छौं,’ उपरीक्षक मरासीनीले भने,‘चन्दा रसिदमा केही व्यक्तिको नाम समेत उल्लेख गरेको पाएका छौं।’
मरासिनीले अनुसन्धान भैरहेकोले सो नाम उल्लेख गर्न नमिल्ने बताए।
पक्राउ परेका मल्ललाई कुन मुद्दा चलाउने भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ।
यसअघि पनि सिन्धुपाल्चोकबाट १७ जना विप्लव कार्यकर्ता पक्राउ गरिएको थियो। राज्यविरूद्धको राजद्रोह शिर्षकको मुद्दा चलाइएको उनीहरूलाई अदालतको आदेशपछि साधारण तारेखका रिहा गरिएको थियो।