नेपाली कांग्रेसका सांसद गगन थापाले हरेक सांसदलाई छ करोड रूपैयाँ दिएर संसदलाई नै बदनाम गर्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले नीतिगत कुराहरूलाई वेवास्ता गर्दै सांसदलाई छ करोड दिएर निर्वाचन क्षेत्र जान भनिएको बताए।
‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ। विकासको मागसँग जोडिनुपर्छ भन्ने मलाई पनि थाहा छ। म पनि जोडिन चाहन्छु,’ थापाले भने, ‘बजेटमा मेलम्ची आयोजना, सुरुङ मार्ग निर्माण गरेर राजधानी जोड्ने, अतिक्रमित जग्गाको कुरा, हरित सहरीकरण, साइकल सिटीको कुरा छ। यो मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित छ। म यसमा जोडिन चाहन्छु। तर कसरी जोडिने भनेर प्रश्न राख्छु, उत्तर आउँदैन। संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन।’
थापाले थप्दै भने, ‘सरकार मलाई यी सबैसँग अलग राख्छ र भन्छ- माननीयज्यू तपाईंले ६ करोड प्राप्त गर्नु भएको छ। जानुस् निर्वाचन क्षेत्रमा, मन्दिरको पर्खाल बनाउनुहोस्। सामुदायिक भवन बनाउनुहोस्। किरियापुत्रीको भवन बनाउनुहोस्। जनतासँग जोडिनुस्। हामी निर्वाचन क्षेत्रका जनतासँग जोडिन ६ करोडको होइन, ६ अर्बको, खर्बको हाम्रो ठाउँसँग जोडिएको नीतिसँग जोडिन चाहन्छौं। योजनासँग जोडिन चाहन्छौं।’
उनले प्रधानमन्त्री र सभामुखले समेत आफ्नो निर्वाचन क्षेत्रमा योजना छानेर बजेट बनाएको बताए।
‘अनि हामीहरूलाई छ करोड लिएर जानुस् भन्दै संसदलाई बदनाम गर्न पाइँदैन,’ थापाले भने।
उनले नेकपाको सिद्धान्त नभएकै कारण बजेट त्यस्तै आएको बताए।
उनले विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको बताए।
‘बजेटबारे अर्थमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु, सांसद भएर खुसी हौं कि नागरिक भएर दु:खी हौं अलमलमा परेको छ,’ थापाले भने।