उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टी नेपालले लोक सेवा आयोगले निकालेको विज्ञापन संविधानविपरीत भएको भन्दै सच्याउन माग गरेको छ।
पार्टीका उपमहासचिव प्रकाश अधिकारीले मंगलबार विज्ञप्ति निकालेर लोक सेवाले जेठ १५ गते स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारीका लागि गरेको विज्ञापन संविधानविपरीत भएको उल्लेख गरेका छन्।
स्थानीय तहमा कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगले गर्ने व्यवस्था हुँदाहुँदै केन्द्रीय लोक सेवाले समानुपातिक र समावेशीता तथा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर विज्ञापन निकालेको पनि पार्टीले उल्लेख गरेको छ।
‘कानुनविपरीत स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्नासम्बन्धी सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोक सेवा आयोगले सहयोग पुर्याउन पनि समाजवादी पार्टी अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
संविधानविपरीत गैरकानुनी कार्यहरू रोक्न र कुनै पनि निकाय वा अंगहरूबाट त्यस प्रकारको कानुनविपरीतका काम कारबाही हुन नदिने तर्फका कदम चाल्नका समाजवादी पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो।