नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणमा देशैभर भएको जागरण अभियानले ऊर्जा दिएको बताएका छन्।
चुनावी हारपछि सुस्ताएका पार्टीका नेता/कार्यकर्तालाई जागरण अभियानले ऊर्जा दिएको उनले बताए।
कांग्रेसले ७७ जिल्लामा पहिलो चरणको एक महिने जागरण अभियान सकाउँदै छ। शनिबार जागरण अभियान सकिएपछि देशैभर खटिएका केन्द्रीय प्रतिनिधि प्रतिवेदन बोकेर पार्टी कार्यालय आउँछन्।
एकमहिने जागरण अभियान कस्तो भयो? भन्ने प्रश्नमा शर्माले बिहिबार पत्रकारहरूसँग भने, ‘पार्टीलाई ऊर्जा दिएको छ। गाडी स्टार्ट भयो, अब कुद्छ। गाडी कसरी कुदाउने भन्ने निर्क्यौल दोस्रो र तेस्रो चरणमा हुने अभियानले पनि गर्छ।’
‘जागरण अभियानबारे पार्टीभित्रै विवाद रहेछ नि!’ भन्ने प्रश्नमा प्रवक्ता शर्माले गतिशील पार्टीमा केही विवाद देखिए पनि त्यो विवादले जागरण अभियानलाई असर नगर्ने बताए।
‘पहिले जागरण अभियान किन नगरेको भन्ने, अनि अहिले जागरण अभियान गर्दा यो भएन त्यो भएन भन्ने?,’ उनले भने।
जिल्ला खटिएका कांग्रेस नेतालाई कार्यकर्ताले जागरण कार्यकर्तालाई नभई नेतालाई आवश्यक परेको बताएका थिए।
नेताहरूबीच हुने गुट, उपगुट अन्त्य गर्न र झगडा हटाएर एक हुन कार्यकर्ताको नेतालाई आग्रह छ।
प्रवक्ता शर्माले देशैभर खटिएका केन्द्रीय प्रतिनिधिबाट सुझाव लिएर जागरण अभियानबारे विस्तृतमा जानकारी गराउने बताएका छन्।
देश संघीय संरचनामा गइसक्दा पनि कांग्रेसको संगठन पूरानै भएकोले जागरण अभियान प्रभावकारी हुन नसकेको पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताउँदै आएका छन्।
संगठन नै छैन कसरी जागरण भयो? भन्ने प्रश्नमा प्रवक्ता शर्माले ‘संगठन छैन भन्ने कुरा आधा मात्रै साँचो’ भएको बताए।
‘गाउँ-गाउँमा कांग्रेसको संगठन छ। हिजो चुनावका बेला खटिएका साथीहरू हुनुहुन्छ,’ उनले भने, ‘केही ठाउँमा संगठन बनिनसकेको हुनसक्छ। त्यस्तो रहेछ भने छिट्टै बनिहाल्छ।’