प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले रानीपोखरी र धरहरा निर्माणमा ढिलाइ भएको बताएका छन्।
प्रतिनिधिसभा संसदमा बिहिबार बोल्दै सांसद सिंहले रानीपोखरी र धरहरा बनाउन नसक्ने सरकारले ठूला/ठूला योजना घोषणा गरिराखेको आरोप लगाए।
‘भूकम्पले भत्काएको धरहरा र रानीपोखरी अहिलेसम्म बनाउन सक्या छैन ठूला योजना ल्याएर मात्रै हुन्छ,’ उनले भने, ‘काठमाडौंमा धुलो र हिलो छ कहिले हट्ला?’
उनले मेलम्ची खानेपानी आयोजना पूर्णता दिन नसकेकोमा सरकारको आलोचना गरे। काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका सिंहले भने, ‘कमिसनको खेलकै कारण मेलम्ची आयोजनाले पूर्णता पाउन सकेन। कुन दसैंमा मेलम्चीको पानी आउँछ?’
सांसद सिंहले आर्थिक वर्ष २०७६/७७ को बजेटलाई बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको टिप्पणी गरेका छन्।
उनले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको बताए।
प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको उनको तर्क थियो।