अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा देखिएको त्रुटि सच्याएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रतिनिधिसभा बैठकमा बजेटको अनुसूची १ र २ सच्याउनुपर्नेमा ध्यानाकर्षण गराउँदै आएका थिए।
बिहीबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पुरक प्रश्न सोध्दै सांसद रिजालले ‘अनुसूची १ र २ बारे अर्थमन्त्रीजी मौन रहनुभयो, यही अनुसूची बोकेर बजेट यही हो भनेर बाहिर निस्कने कि त्यसको अर्को पातो हामीलाई प्राप्त हुन्छ?’ भनेका थिए।
जवाफ दिने क्रममा: अर्थमन्त्री खतिवडाले अनुसूची १ र २ मा त्रुटि देखिएकोले सच्याइएको बताएका थिए। अर्थमन्त्री खतिवडाले भने, ‘अनुसूची १ मा जुन त्रुटि भएको थियो विभाजिय कोषमा गएर संघमा बाँकी रहनुपर्ने रकम नकटाइएको कारण संघमा बढी अंक देखिन गयो। अनुसूची १ कै गल्ती २ मा पनि भएको हो त्यही कुरा म यहाँ स्पष्ट गर्न चाहेँ।’
अर्थ मन्त्रालयले वेवसाइटमा पूरानो बजेट वक्तव्य हटाएर सच्याइएको वक्तव्य राखेको छ। बजेट वक्तव्यमा स्थानीय तह र प्रदेशलाई दिने राजश्व कुल राजश्वबाट घटाउनुपर्नेमा संघीय कोषमै दाखिला हुने गरी राखेकोमा कांग्रेसले त्रुटि भएको भन्दै सच्याउन माग गरेको थियो।