प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ।
कांग्रेसले गुठी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरकारले लाठी र पानीको फोहोरा प्रहार गरेको भन्दै जवाफ माग गर्दै बैठक अवरूद्ध गरेको हो।
बैठकको सुरूआतमै कांग्रेसले गुठी विधेयकबारे प्रश्न उठाएपछि सभामुख कृष्णबहादुर महराले भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई बोल्न समय दिएका थिए।
अर्यालले गुठी विधेयक संविधानको मर्म र भावना अनुरूप ल्याएको बताएकी थिइन्।
तर कांग्रेसले अर्यालको जवाफमा चित्त नबुझेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेको हो।
'रितिथिति जोगाउन मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्दै जाँदा जवाफ लाठी वर्षा गराएर दिइएको छ', कांग्रेस सांसद पुष्पा भुषालले भनिन्, 'रिति/थिति परम्परालाई कानुन र संविधानको नाम दिएर नामेट गर्न खोजेको हो।’
उनले धार्मिक सम्पदाका रूपमा गुठियारको जग्गालाई साँस्कृतिक सम्पदाको रूपमा सरकारले लिनुपर्ने तर्क गरिन्।
'संविधानको गलत ब्याख्या गरेर रितिथिति र धर्ममाथि धावा बोल्न मिल्छ', भुषालले भनिन्, 'शान्तिपूर्ण ढंगले जनताले सडकमा आएर बोल्न नपाउने डेमोक्रेसी हामीलाई चाहिएको छैन।’
उनले सत्ताले गरेको कामको विरोध गरे पानीको बौछार र लाठी प्रहार गर्ने काम गर्छौं भनेर सार्वाजनिक रूपमा भन्न आग्रह गरिन्।
'लाठी वर्षाउनेबारे गृहमन्त्रीलेको जवाफ आउनुपर्यो', भुषालले भनिन्, 'गुठियारको तहस नहस गराउने विधेयक र हिजोको घटनामा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्यो।’
लगत्तै कांग्रेस सांसदहरूले गृहमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेका हुन्।
सभामुख महराले 'भूमिसुधार मन्त्रीले दिएको अवस्थामा गृहमन्त्रीको जवाफ माग गरिएकोमा प्रश्न' उठाए।
उनले सरकारको ध्यानाकर्षण गराउने भन्दै बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरूले मानेनन्।
'हिजोको घटना गम्भीर घटना हो', महराले भने, 'अहिले गृहमन्त्री हुनुहुन्न, बस्नुस्।’
तर कांग्रेस सांसदहरूले बस्न नमानेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। यस्तै, गुठी विधेयकलाई लिएर राष्ट्रिय सभामा पनि प्रतिपक्ष दलले अवरोध गरेको छ।